काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पार्टीको कुनै कार्यकारी पदमा नरहने घोषणा गरेका छन्।
आइतबार विभिन्न घटकसँग एकता भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को कुनै कार्यकारी पदमा नरहने र कामकारबाहीमा हस्तक्षेपसमेत नगर्ने प्रतिबद्धता उनले जनाएका हुन्।
एकता घोषणा सभा कार्यक्रममा धारणा राख्दै भट्टराईले आफ्नो कुरा राख्ने, तर त्यो कार्यान्वयन नभए पनि आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पारेका हुन्।
भट्टराईले भने- 'तपाईँहरूले मलाई अभिभावकको रुपमा प्रस्तुत गर्नुभएको छ, त्यसको हैसियत अभिभावकले के गर्नुपर्छ त्यो तपाईँहरूर्ला थाहै छ। अभिभावकले आफूलाई कहिल्यै कार्यकारी भूमिका निर्वाह गर्दैन। जसले काम गर्नुपर्ने हो उनीहरूलाई काम गर्न दिन्छ, दिनुपर्छ आफ्नो कुरा राख्नुपर्छ। लागू भएन भने पनि उनीहरूले जे गर्छन् गर्छन् ।उनीहरूको अधिकार हो भनेर सहेर बस्नुपर्छ। म त्यही प्रतिबद्धता व्यक्त गर्दछु।'
भट्टराई नेतृत्वको नेसपा नयाँ शक्ति, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियार लगायतका घटक एक भएर आजै प्रलोपा घोषणा भएको थियो।
पार्टी सञ्चालनका लागि अध्यक्ष परिषद् बनाइएको छ। जसमा सुदन किराँती, सन्तोष परियार, दुर्गा सोव, अशोक जैसवाल र ओजस्वी भट्टराई गरी पाँच जना रहेका छन्।
एकतामा केही जेनजी समूहसमेत सहभागी भएका छन्।