काठमाडौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सुन तस्करी प्रकरणमा मुछिएका महरालाई बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
चिनियाँ संगठित गिरोहसँग मिलेर विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख महरालाई ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको थियो ।
तर ,जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ‘स्वास्थ्यको कारण’ देखाउँदै ‘हाजिरी जमानी’ मा छाडेको थियो ।सीआईबीले यसअघि मुद्दा नचलाइ राखेको थियो। सुन तस्करीको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर, राजनीतिक शक्तिको आडमा उनीमाथि मुद्दा चलेको थिएन ।
नयाँ बनेसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै मुद्दाहरू ब्रेक-थ्रु हुन्छन भनेका थिए। त्यसपछि महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गत असोज २६ गते पक्राउ गरेको थियो ।
आज महराको मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघि जिल्ला अदालत काठमाडौंको आदेश समेत बदर गरिदिएको छ ।
त्यस्तै उच्च अदालतले प्रतिवादी महराको उमेर र स्वास्थ्य अवस्था तथा अभियोग तथा संकलित सबूत प्रमाणहरुका आधारमा समेत उनलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै २० लाख धरौटी लिइ मुद्दा पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएको छ ।
