काठमाडौं । रवि लामिछानेमाथि अन्याय भएको भन्दै त्यसविरुद्ध लड्ने घोषणासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका पूर्वएआईजी विश्वराज पोखरेल विगतमा एमाले र कांग्रेसलाई प्रभावमा पारेर ‘रकेट शैली’मा प्रहरीमा बढुवा भएको खुलेको छ ।
एकै व्याचका उनी भन्दा सक्षम र क्षमतवान प्रहरीहरु धिरज सिंह, सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी, वसन्तकुमार लामा तथा रबिन्द्र धानुक डीआईजी छँदा केपी शर्मा ओली र इश्वर पोखरेलमार्फत दबाब सृजना गराएर सिंगल एआईजी बनेका थिए ।
पोखरेललाई एमालेका केपी ओली, ईश्वर पोखरेल, कांग्रेसका शेखर कोईरालाहरु तथा पुर्व प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले वरीयता मिच्न साथ दिएका थिए । पोखरेलका लागि नयाँ दरबन्दी खडा गरेर बढुवा गरिएको थियो ।
उनीहरुकै आडमा २०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा पोखरेलले आफ्नो ब्याचका चारजना र अघिल्लो ब्याचका ७ जनालाई वरीयता मिचेर उछिनेका थिए । जसका कारण प्रहरीको चेन अफ कमाण्डमा समस्या र प्रहरीभित्र असन्तुष्ट सुरु भएको थियो ।
एकै दिन सेवा प्रवेश गरेको भए पनि धिरजप्रताप सिंह, उत्तम सुबेदी, रबिन्द्र धानुकहरुलाई प्रतिस्पर्धाबाट बन्चित गराइ विश्वराज पोखरेललाई मात्र केपी ओली सरकारले रकेट शैलीमा पहिला एसएसपीबाट डीआईजी अनि एआईजी बनाएको थियो ।
पोखरेल २०७७ मंसिर २५ मा एआईजीमा बढुवा भएका थिए । त्यसको सात महिनापछि सहकुल थापालाई ओली सरकारले नै एआईजी बनाएको थियो ।
पोखरेल राजनीतिक चलखेल गरी आफ्ना व्याची र सिनियर एसएसपीहरुलाई उछिनेर डीआईजीमा बढुवा भए । उनले पुनः सोही शैली अपनाएर एआईजी नै बने ।
पोखरेललाई संगठनको सिस्टम नै बिगारेर रकेट शैलीमा जम्प गराउन केपी ओली, आफन्त ईश्वर पोखरेलदेखि निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरासम्मको साथ थियो ।
उतिबेला जुनियर र कार्यक्षमतामा कमजोर मानिएका पोखरेललाई केपी ओलीको सरकारले सिस्टम नै बिगारेर डीआईजी र एआईजी बनाए पनि देउवा सरकारले आईजीपी नबनाएपछि कोइरालाले विरोध गरेका थिए ।
जबकि, केपी ओली सरकारको पालामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विश्वराज पोखरेललाई एआईजी बनाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन नै दिएको थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनलाई ओली सरकारले नै लत्याएपछि प्रहरीमा थप भद्रगोल भएको थियो।