Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन र रविले नपत्याएपछि ७ करोडको फण्डा मच्चाएर आरजुविरुद्ध खनिदै पोखरेल

बालेन र रविले नपत्याएपछि ७ करोडको फण्डा मच्चाएर आरजुविरुद्ध खनिदै पोखरेल

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट चुनाव लडेर सांसद बनेका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको चौतर्फी आलोचना शुरु भएको छ । 

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वमन्त्री डा.आरजु राणा देउवामाथि गम्भीर आरोप लगाएका कारण उनी विवादमा तानिएका हुन् । 
चरित्र हत्या गर्ने उद्देश्यले प्रमाणित नभएको आक्षेप लगाएको भन्दै उनको आलोचना भइरहेको छ । 

जनप्रतिनिधि र पूर्वएआईजी जस्तो जिम्मेवार व्यक्तिले एक दैनिक पत्रिकामा अन्तर्वार्ता दिंदै डा.आरजु राणा निकट व्यक्तिहरुले आईजीपी बन्न ७ करोड माग गरेको दावी गरेका छन् ।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै सांसद पोखरेलले भनेका थिए– मलाई आईजीपी बनाउनका लागि अनौपचारिक रूपमा ७ करोडको माग गरिएको थियो, जुन आरजु राणा र उनी वरपरका बिचौलियाहरूसँग जोडिएको थियो, मैले त्यसलाई ठाडै अस्वीकार गरेँ।’

तर, पोखरेलले राणा निकटका व्यक्ति को थिए, भनेर खुलाउन सकेका छैनन् । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आईजीपी नबनाएको झोकमा डा.राणामाथि ७ करोड माग गरेको भनेर निराधार आक्षेप लगाउनु पोखरेलको पूर्वाग्रह भएको पूर्वप्रहरी अधिकारीहरु नै बताउँछन् । 

देउवा नेतृत्वको सरकारले २०७९ मा पोखरेललाई आइजीपी नबनाएर धिरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरेको थियो । सिंहलाई आईजीपी बनाएको सरकारको निर्णयविरुद्ध पोखरेल सर्वोच्च अदालतसम्म पुगेका थिए । 

तर, सर्वोच्चले सरकारको निर्णयलाई सदर गरेपछि उनी राजीनामा दिएर नेपाल प्रहरी संगठनबाट बाहिरिएका थिए । 

आइजीपी बन्न नपाएका पोखरेलको त्यसअघिका यात्रा भने निकै रोचक छन् । २०७४ को निर्वाचनपछि झन्डै दुईतिहाईको बहुमत साथ बनेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार पोखरेललाई एआइजीसम्मको बढुवामा अगाडि ल्याएको थियो । 

पोखरेलको त्यस बेलाको यात्रालाई प्रहरी अधिकारीहरूले ‘जम्म’ अर्थात् ‘रकेट यात्रा’ भनेर पनि टिप्पणी गर्दै आएका छन् । 

पोखरेल डीआइजी बढुवापछि भने एकाएक अगाडि ल्याइएका थिए । डीआईजीमा उनले अघिल्ला ब्याचीलाई समेत पछि पारेका थिए । यही कारण उनको यात्रालाई नेपाल प्रहरीभित्र ‘रकेट यात्रा’ भनिन्छ ।

पूर्व एआइजी पोखरेल २०४९ चैत १२ गते प्रहरी निरीक्षक (ईन्सपेक्टर) पदबाट भर्ना हुँदा उनी आठौं नम्बरमा थिए । भर्ना हुँदा पछि आइजीपी नियुक्त गरिएका सिंह भने एक नम्बरमा थिए ।

२०६२ साउन ११ गते प्रहरी नायब उपरीक्षक(डीएसपी)मा बढुवामा सिंह एक नम्बरमा हुँदा पोखरेल २४औँ नम्बरमा पुगेका थिए । त्यसपछि उनीहरूको समूहको २०६९ माघ ११ गते एसपीमा बढुवा भयो । बढुवामा पनि सिंह एक नम्बरमा रहँदा पोखरेल ७औँ नम्बरमा थिए । 

२०७४ मा एसएसपी बढुवामा भने पोखरेलले सिंहलाई उछिनेका थिए । डीआइजीमा बढुवा हुँदा भने पोखरेलको जम्प अर्थात् रकेट यात्रा शुरु भयो । 

२०७५ कात्तिक १० गते काभ्रेमा तत्कालीन डीआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त ठाउँमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ वैशाख १९ गते पोखरेललाई डीआईजीमा बढुवा गर्यो । त्यतिबेला पोखरेलले आफूभन्दा अघिल्लो ब्याजका एसएसपीहरूलाई नै पछार्न सफल भएका थिए ।

पोखरेललाई एसएसपीबाट डीआईजीमा एकल बढुवा गर्नका लागि तत्कालीन समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे र तत्कालीन समयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले तत्कालीन आईजीपी सर्वोन्द्र खनाललाई निकै ठूलो दवाव दिएको समाचार त्यतिबेलै भाइरल बनेको थियो । 

जतिबेला पोखरेललाई डीआईजी बनाइएको थियो, त्यतिबेला पूर्व आईजीपी ठाकुर ज्ञवाली ब्याचका वीरेन्द्र श्रेष्ठ सिनियर एसएसपी थिए । पोखरेलको ब्याचभन्दा दुई ब्याच र तीन वर्ष सिनियर रहेका श्रेष्ठलाई डीआईजी नबनाई तत्कालीन सरकारले भविष्यमा आईजीपी बनाउने उद्देश्यका साथ पोखरेललाई डीआईजीमा बढुवा गरेको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई नै आइजीपी बनाउन चाहन्थ्यो । त्यसैका लागि २०७७ मंसिरमा पोखरेलकै लागि थप एक एआइजीको दरबन्दी सिर्जना गरेर पोखरेललाई बढुवा गरिएको थियो । पोखरेलका लागि तत्कालीन सरकारले नयाँ पद सिर्जना गरेको थियो । 

तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोडबलमा एआईजीको नयाँ पद सिर्जना गरी पोखरेललाई भावी आईजीपीका रुपमा तयार पार्न एआईजीमा बढुवा गरिएको थियो । पोखरेल २०७७ मंसिर २५ मै नयाँ सिर्जना गरिएको एआईजी पदमा बढुवा भएका थिए ।

पोखरेललाई भावी आईजीपी बनाउन प्रहरी संगठनको नियमावली मिचिएको लगायतको आरोप लगाउँदै संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरीसमेत परेको थियो ।

उजुरीपछि समितिले तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई समितिको बैठकमा बोलाएर एआईजीको पद सिर्जना र बढुवाबारे प्रश्न गरेको थियो । राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिने क्रममा तत्कालीन गृहमन्त्री थापाले आफूले प्रहरी अतिरिक्त महानिरीक्षक पद थप गर्नेबारे प्रस्ताव पनि नगरेको र त्यसबारे आफूलाई कुनै जानकारी नभएको जवाफ दिएका थिए ।

तत्कालीन समयमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रहेकी शशि श्रेष्ठले २०७७ मंसिर २४ गते सरकार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा निर्देशन दिँदै एकल पद सिर्जना गरी एआईजीमा बढुवा गर्दा प्रहरी संगठनमै दूरगामी असर गर्ने भएकाले एआईजी पदमा बढुवा नगर्न र उक्त पद आवश्यक पनि नरहेको कारण बढुवा नगर्न पत्र पठाएको थियो ।

समितिले संसद चालू नभएको अवस्थामा अध्यादेशमार्फत् कानून ल्याएर दूरगामी असर गर्ने निर्णय गर्नु उचित नहुने भन्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा कसैलाई पनि बढुवा नगर्न निर्देशन नै दिएको थियो ।

तर, राज्य व्यवस्था तथा सुशासन समितिले सरकार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा निर्देशन दिएको भोलिपल्टै अर्थात् २०७७ मंसिर २५ गते ओली नेतृत्वको सरकारले पोखरेललाई एआईजीमा बढुवा गरेको थियो ।

पोखरेललाई मात्रै एआईजीमा बढुवा गरेपछि तत्कालीन सत्तारुढ दल एमालेभित्रै असन्तुष्टिसमेत देखियो । त्यसपछि एसएसपीमा छुटेका तर, डीआईजीमा सँगै बढुवा गरिएका सहकुलबहादुर थापालाई अर्को पद सिर्जना गरी बढुवा गरिएको थियो । थापालाई २०७८ असार २१ गते प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजी पदमा बढुवा गरिएको थियो ।

तर, पोखरेललाई आइजीपीमा बढुवा गर्ने बेला २०७९ वैशाखमा ओली सरकार ढल्यो । देउवा प्रधानमन्त्री बने । सरकार परिवर्तन भएसँगै देउवा नेतृत्वको सरकारले एआईजीको थप नयाँ पद सिर्जना गरी बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गरेको थियो । 

तत्कालीन समयमा सरकारले पन्तलाई एक नम्बरमा, सिंहलाई दुई नम्बरमा र धानुकलाई तीन नम्बरमा बढुवा गरेको थियो । अन्तिममा देउवा नेतृत्वको सरकारले सिंहको बढुवा गरेर आईजीपी बनाएको थियो । 

त्यसपछि देउवा र डा.राणाविरुद्ध पोखरेल निरन्तर सार्वजनिक रुपमै आलोचना र गालीगलौजमा उत्रिएका छन् । अहिलेसम्म पनि डा.राणाका निकटका व्यक्तिहरूले आईजीपी बनाउन सात करोड माग गरेको भन्दै आएका छन् । 

उनले राणा निकटका व्यक्तिहरुले सात करोड मागेको बताए पनि रकम माग्ने व्यक्तिहरुको नाम भने उनले भन्न सकेका छैनन् । एमाले नेतृत्वले पोखरेललाई आईजीपी बनाउन ठूलै कसरत गरेपनि देउवाले ब्रेक लगाएका थिए । त्यसैले ५ वर्षपछि पनि उनले त्यो रिस पोखिरहेका छन् । 

पोखरेलले आफू एक नम्बरमा बढुवा हुनका लागि प्रहरी संगठनको कर्मचारी प्रशासनमा बसेर काम गर्न पाएका थिए । प्रहरी संगठनको ‘कप्र’ अर्थात् कर्मचारी प्रशासन त्यस्तो शाखा हो, जहाँबाट प्रहरी कर्मचारीको मूल्यांकन फारम भरिन्छ र नम्बर चढाइन्छ । 

त्यसबाहेक तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग नजिक रहेका कारण पोखरेलले बढुवामा एकैपटक ४ जनालाई पछाडि पारेर छलाङ मारेका थिए । पोखरेलले छलाङ मार्नुका पछाडि रेकर्डमा दर्ज हुने गरी कुनै उल्लेखनीय काम भने गरेका थिएनन् ।

पोखरेल पटक–पटक विवादमा पर्दै आएका प्रहरी अधिकृतमध्येमा पर्छन् । प्रहरीमा कार्यरत रहँदा जोखिम ठाउँमा नगएका उनी ब्याचमा पनि कमजोर प्रहरी अधिकारी मानिन्थे । शक्तिको आडमा सँधै राम्रो ठाउँमा मात्रै बस्दै आएका उनी काठमाडौं प्रहरी प्रमुख हुँदा विवादमा तानिएका थिए । 

कोटेश्वरमा बालक अपहरण भएको काण्डमा आफ्नै मोवाइलबाट अपहरणकारीलाई एसएमएस पठाएपछि उनी विवादमा तानिएका थिए । उनकै एसएमएसका कारण बालकको हत्या भएको भन्दै विरोध पनि भएको थियो । 

भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसेका बेला हत्या गर्ने उद्देश्यले पूर्वप्रधानमन्त्री देउवा र पूर्वपरराष्ट्रमन्त्रीलाई सांघातिक आक्रमण भएको थियो । सुरक्षाकर्मी र केही जेनजी युवाहरूले देउवा दम्पत्तिलाई उद्दार गरेर बचाएका थिए । 

त्यस बेलाको हमलाबाट बिरामी अवस्थामा रहेका देउवा दम्पत्ति विदेशमा उपचाररत छन् । रास्वपा सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ पुर्जी जारी गर्न लगाएको र सबैतिरबाट खेदिएका बेला देउवा परिवारमाथि पूर्वएआईजी पोखरेलले पनि रिस पोखेको पूर्वप्रहरीहरु नै बताउँछन् । 

सांसदमा विजयी भएलगत्तै आफू गृहमन्त्री बन्ने भन्दै अन्तर्वार्ता दिंदै हिंडेका पोखरेललाई प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र रास्वपा सभापति रवि लामिछानेले वास्ता नगरेपछि अहिलले मनलाग्दी बोल्दै हिड्न थालेको भन्दै उनकै आलोचना भइरहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077