काठमाडौं । उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले सक्रिय राजनीतिमा सहभागी हुने बेला अहिले भएको बताएकी छन् ।
उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सक्रिय राजनीतिमा सहभागी हुने यो नै उपयुक्त समय रहेको बताएकी हुन् ।
नायिका समेत रहेकी विश्वकर्माले भनिन्–‘अब सक्रिय राजनीतिमा आउन ढिला भइसक्यो । सक्रिय राजनीतिमा आउने उपयुक्त समय आज र अहिले नै हो ।’
देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै उनले सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेकी हुन् ।
सम्बोधनको क्रममा उनले कुलमान घिसिङलाई अगुवा मानेको पनि बताइन् । उनले आफ्नो जीवनमा राजनीति चेत आएसँगै सबैभन्दा बढी प्रभाव पार्ने निर्णय नै लोडसेडिङ अन्त्यको निर्णय भएको बताउँदै उनले सोही दिनदेखि घिसिङलाई अगुवा मानेको बताएकी हुन् ।
उनले भनिन्–‘देशले परिणाममुखी नेतृत्व खोजिरहेको छ । म जन्मिएदेखि जब राजनीतिक चेत ममा आयो । यो देशमा सरकारमा बसेर कसैको नेतृत्वले मेरो जीवन र दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको थियो र असर गरेको थियो भने त्यो लोडसेडिङको निर्णय थियो ।’
घिसिङकै नेतृत्वमा आफूहरु देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेको बताउँदै उनले भनिन्–‘मैले त्यही दिन कुलमान घिसिङलाई आफ्नो अगुवा मानेको थिएँ । १८ घण्टे लोडसेडिङ हटाएर कुलमान घिसिङलगायतले तपाईं हाम्रो घरमा उज्यालो त ल्याइसक्नुभयो । अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने अभियानमा लागेका छौं । यो अभियान देशलाई माया गर्ने हरेक नेतृत्वको हो ।’