राजेश साह/बारा । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारले सबै क्षेत्रको भ्रष्टाचार निमूल गर्ने विश्वास गरिएको थियो ।
भ्रष्टाचार बिरोधी आन्दोलनबाट सरकार बनेपछि पनि घुस्याहा प्रहरीहरुको मनोबल भने खस्नुको साट्टो झन बढ्दै गएको बाराको सिम्रौनगढमा भएको एक घटनाले देखाएको छ ।
गत मंसिर ७ गते राति भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीमाथि गोली प्रहार गर्ने तस्करलाई जोगाउन अहिले लाखौं रकमको बार्गेनिङ शुरु भएको छ ।
तस्कर समूहका नाइकेका रुपमा चिनिएका सियाराम कुशवाहमार्फत आर्थिक चलखेल शुरु गरिएपछि प्रहरीको गन्धे हर्कत बाहिर आएको हो ।
इलाका प्रहरी कार्यालय सिमौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्ण देव साह(केडी), प्रहरी चौकी खजानीका इन्चार्ज असई बिश्वराज कुशवाहा, सिम्रौनगढका घुमुवा रुपेश कुशवाहाले सियारामसँग बार्गेनिङ गरिरहेको कुरा तस्कर समूहबाटै बाहिर आएको छ ।
गोलीकाण्डमा संलग्न रहेका नेपाल तर्फका पहिचान भएका तस्करहरुलाई अज्ञात समूह वा भारतीय तस्कर बनाएर मुद्दा चलाइ बचाउनको लागि पाँच लाख रुपैयाँको माग गरिएको र शुरुमै केही रकम समेत दिइसकेको उक्त समूहका एक व्यक्तिले बताए ।
सिम्रौनगढका प्रहरी प्रमुख साहले खजारी प्रहरी चौकी प्रमुख कुशवाहा र अर्का सिम्रौनगढ इलाका प्रहरीका घुमुवा रुपेश कुशवाहा मार्फत रकम लिएको चर्चा समेत छ ।
तस्कर र प्रहरीसँग गोली हानाहान भएको घटना एक हप्ता भन्दा बढी समय बितिसक्दा पनि एक जना पनि पक्राउ नपर्नु र उनीहरुको खोजतलास पनि नगर्नुले पनि प्रहरीमाथि थप शंका उत्पन्न भएको छ ।
घटनाको राती नै इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्ण देव साह (केडी)ले प्रहरीमाथि गोली प्रहार गर्ने तस्करहरुको पहिचान भएको बताउँदै उनीहरुलाई एक दुई दिन मै पक्राउ गर्ने दाबी गरेका थिए ।
प्रहरी निरीक्षक साहले तस्करहरुलाई पक्राउ गरेर मुद्दा चलाउने दाबी गरे पनि अहिले ती तस्कर समूहलाई जोगाउनको लागि बारा प्रहरी प्रमुखलाई समेत प्रभावमा पार्न खोजिएको छ ।
तस्करीका सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली चलाएर ती सामान सहित भाग्न सफल भएका ती तस्करहरुले अहिले पनि सिम्रौनगढको विभिन्न नाकाहरुबाट लागूऔषध गाँजा, कस्मेटिक्स समान, कपडा, मेशिनरी पार्टपुर्जा, किराना समानहरु, माछा, फलफूललगायतको कारोबार नियमित रुपमै गरिरहेका छन् ।
तस्करी गरी सामान ओसारपसार गर्दै अएका अर्का एक व्यक्तिले भने भन्सार छलीको सामान ल्याउनको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीलाई महिनवारी दिंदै आएको दावी गरेका छन् । महिनावारी बुँझाउँदा पनि सामान पक्राउ गर्न खोजेपछि गोली हानाहान भएको उनको दावी छ ।
जिल्ला प्रहरी कार्यालय बारामा नयाँ प्रहरी उपरीक्षक नरेन्द्र कुवर हाजिर भएकै दिन इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले तस्करको समान ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच गोली हानाहन भएको थियो ।
भारतबाट ट्याक्टरमा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिन खोज्दा पचरौत नगरपालिकाको सीमावर्ती गाउँको हनुमान नाकामा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले बताएका थिए ।
भारत तर्फबाट ट्याक्टरमा लोड गरेर भन्सार छलीको सामाग्रीहरु भित्र्याउन खोजिएको सूचना आएपछि त्यसलाई नियन्त्रणमा लिन खटिएको प्रहरी टोलीमाथि तस्कर समूहबाट दुई राउण्ड गोली प्रहार भएपछि बचाउको लागि प्रहरीले गोली चलाउनु परेको पण्डितले बताएका थिए ।
घटना स्थलबाट प्रहरीले चारवटा भारतिय नम्बर प्लेट भएका मोटरसाइकल, दुईवटा मोबाइल र भारतिय आधार काड (भारतीय नागरिकता) समेत फेलाको र त्यसैको अधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको दाबी गरिएको छ ।
तस्कर समूहले पहिला देखि दिएको तस्करीको लाइन एक्कासी रोक्न खोज्दा तस्कर र प्रहरी टोलीबीच शुरुमा हात हालाहल भएर गोली हानाहान भएको थियो ।