काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको नीति र निर्देशन विपरीत सामाजिक सञ्जालमा पोशाक लगाएर तस्बिर र भिडिओ अपलोड गर्ने २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, २०८० सालदेखि हालसम्म विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरेर भिडियो बनाई आचारसंहिता विपरीत काम गरेकाले कारबाही गरेको हो ।
उनीहरूको ओहोदा भने खुलाइएको छैन । उनीहरूले फेसबुक, म्यासेन्जर, एक्स (ट्विटर), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याटजस्ता सामाजिक सञ्जालमा व्यक्तिगत प्रोफाइलमार्फत संगठनको पोशाकमा विभिन्न गतिविधिका तस्बिर तथा भिडिओहरू पोस्ट गरेका थिए।
उनीहरूलाई बढुवा रोक्का गर्ने चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाई गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले बताए ।
कर्मचारीको सामाजिक सञ्जालका गतिविधिलाई अनुगमन गर्न सशस्त्र प्रहरीले प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा समेत स्थापना गरेको छ ।