काठमाडौँ । पर्सा प्रहरीले ठूलो परिमाणको लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने दुई जना वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका स्थायी बासिन्दा हुन्।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले मंसिर २३ गते साँझ करिब ६ बजेतिर वीरगञ्ज–१५, प्रतिमाचोकस्थित टिकट काउन्टर अगाडि रोकिएको वाग्मती प्रदेश–०८–००१ ज ०११७ नम्बरको सार्वजनिक ईभी गाडीलाई जाँच गरेको थियो।
जाँचका क्रममा दुई अभियुक्तले बोकेको रातो र गुलाबी सुटकेसभित्र ६० हजार ५३० पिस ट्रामाडोल क्याप्सुल लुकाइ–छिपाइ राखिएको अवस्थामा फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका क्रममा पर्साको वीरगञ्ज–२४, रामगढवामा उनीहरूले प्रयोग गर्दै आएको डेरा कोठाबाट एक कार्टुनभित्र १५ हजार ६४० पिसट्रामाडोल क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
यससँगै बरामद समग्र लागुऔषधको संख्या ७६ हजार १७० पिस पुगेको छ, जसलाई पछिल्ला वर्षहरूमा पर्सामा बरामद भएको सबैभन्दा ठूलो परिमाण मानिएको छ।
पक्राउ परेकामध्ये वीरगञ्ज–२४, रामगढवाका २० वर्षीय युवराज पटेल र २१ वर्षीय अफजल देवान रहेका छन्।
अन्य दुई जनामा धादिङको बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय रामहरि मगर र सिद्धलेक गाउँपालिका–७ का १९ वर्षीय राजकुमार मगरातीरहेका छन्।
पक्राउ परेकाहरूविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्सा जिला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी प्रमुख सुदीपराज पाठकले बताए।