काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठन भएको सय दिन पुगेलगत्तै जेनजी अभियन्ताहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् ।
जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफ्ना भावना र माग दुवै नसमेटेको भन्दै जेनजी अभियन्ताहरू सर्वपक्षीय र गैरदलीय नेतृत्वको सरकार गठनको प्रयासमा जुटेका छन् ।
जेनजी अभियानसँग जोडिएका विभिन्न समूहले थालेको यस प्रयासमा केही राजनीतिक दल र ‘नागरिक समाजका अगुवाहरू’समेत जोडिएर अभियानलाई मूर्त रूप दिन लागिपरेका छन् ।
कार्की नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न असफल भएको निष्कर्षसहित यो सरकार हटाएर नयाँ सरकार निर्माणको उद्देश्यसहित अभियन्ता मिराज ढुंगाना, विकेश साहसहितको समूहले त सोमबार ९आज०बाट सडक आन्दोलनको घोषणा नै गरेको छ ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्की नेतृत्वको सरकार असफल, असक्षम रहेको निष्कर्षसहित जेनजी अभयिन्ता, केही राजनीतिक दल र नागरिक अगुवासमेतको सक्रियतामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई सरकारको नेतृत्वमा ल्याउने बहस र प्रयास पुनः सतहमा ल्याइएको छ ।
श्रेष्ठको नाममा सहमति जुट्न नसकेमा पूर्वप्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरादेखि वर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसम्मलाई विकल्पका रूपमा अघि सार्ने गृहकार्य जारी छ । राजधानी दैनिकबाट