काठमाडौं । एमालेका सचिव महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न गरेका छन् ।
सोमवार सिंहदरवारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा बस्नेतले उक्त प्रश्न उठाएका हुन् ।
बस्नेतले सिंहदरबारमा गत भदौ २३ गते घाइते भएकाहरूले अझै उपचार नपाएको र भदौ २४ गते विध्वंश गरिएका सरकारी तथा निजी संरचनाको पुनर्निर्माणको अवस्था अन्योलमै रहेको बताए।
'जलेका संरचना टुलुटुलु हेर्दै हामी चुनावमा जाने होरु' उनले प्रश्न गरे।
आफ्नै अनुभव सुनाउँदै बस्नेतले आफ्नो घरसमेत जलाइएकाले अहिले भाडाको घरमा बस्नुपरेको बताए।
उनले भने- 'मेरो घर आगजनी भएर म अहिले भाडाको घरमा बसिरहेको छु । राज्यका सम्पत्ति र मेरो घर जलेको छ । मेरो जलेको घर हेर्दै मैले घरदैलोमा जाने हो ? सरकारले जवाफ देओस्।'
सरकार निर्वाचन गराउनेमा लागेको भन्नेमा आशंका रहेको पनि बस्नेतको भनाइ छ ।
बस्नेतले फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद् पुन स्थापना हुन्छ की हुँदैन भन्दै प्रश्न गरे।
साथै बस्नेतले प्रधानमन्त्री कार्यालयमा छलफल भइरहँदा जेनजीका केही समूह प्रदर्शनमा रहेको बताउँदै बस्नेतले जेनजी प्रदर्शनका क्रममा लुटेका हतियार कति छन् र जेलबाट भागेका कैदी के गर्दैछन् ? कता छन् ? भन्ने प्रश्न राखेका थिए ।