काठमाडौं । बजारमा विक्री वितरण भइरहेको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएको छ । काठमाडौंमा उत्पादित रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको हो ।
बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको रायोको सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग गर्न पूर्ण अयोग्य रहेको जनाइएको छ ।
सरकारले अर्गानोफस्फेटमा प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।
सबैभन्दा समस्या त कहाँ छ भने केन्द्रीय कृषि प्रयोगशालाले कालिमाटीबाट विहानै विषादी परीक्षणका लागि हरियो तरकारीहरु लैजाने गर्छ । परीक्षणको नतिजा आउन झण्डै दुई घण्टा लाग्छ ।
त्यतिबेलासम्म अधिकांश उपभोक्ताले हरियो तरकारी लगेर पकाइसकेका हुन्छ भने कतिपयले खाइसकेका हुन्छन् । यसले गर्दा उपभोक्ताहरु अहिले त्रसित बनेका छन् ।