काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले आफूसँग रहेको परराष्ट्रमन्त्रीको जिम्मेवारी शर्मालाई दिएकी हुन् ।
आजै नवनियुक्त मन्त्री शर्माले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
नेपाली सेनाको पूर्वरथी रहेका शर्मा माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोनाका लागि मूख्य भूमिका खेलेका थिए ।
गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् ।
जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि गत भदौ २४ गते तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए। त्यसपछि नेपाली सेना र जेनजीको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्री नियुक्त भएकै राति उनले संसद् विघटन गर्दै आउँदो फागुन २१ गते संसदीय निर्वाचन हुने घोषणा गरेकी थिइन्।
प्रधानमन्त्री नियुक्त भएपछि भदौ २९ गते प्रधानमन्त्री कार्कीले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्दा रामेश्वर खनाललाई अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय र ओमप्रकाश अर्याललाईगृह मन्त्रालय दिएकी थिइन्।
दोस्रो पटक असोज ६ गते मन्त्रिपरिषद् विस्तार हुँदा अनिलकुमार सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालय , मदन परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाएका थिए ।
९ कात्तिकमा तेस्रोपटक गरिएको मन्त्रिपरिषद् विस्तारपछि डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बनेका थिए।
प्रधानमन्त्री कार्कीले मंसिर २६ गत चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेसंगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुरमा इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ मन्त्री बनेका थिए।
चौथो पटक मन्त्रिमण्डल विस्तार गरेसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको थियो । आज एक मन्त्री थपिएसँगै सुशीला कार्की नेतृत्वको अन्नरिम सरकार १५ सदस्यीय बनेको छ।