काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले माघ ५ गते राजीनामा दिने भएका छन्।
सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेकाले सभामुख घिमिरेले माघ ५ गते राजीनामा दिने भएका हुन ।
नेपालको संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्थाको उपदफा ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्नेगरी कार्यक्रम प्रकाशन गरेको छ। फागुन २१ गते हुने पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ।