काटमाडौं । झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा निवर्तमान सभामुख देवराज घिमिरेले आफूविरुद्ध घृणा फैल्याइएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार बिर्तामोडमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर टिप्पणी गरेकोप्रति उनले कडा आपत्ति जनाएका हुन् ।
घिमिरेले प्रेस नोट निकाल्दै लोकतान्त्रिक अभ्यासमा उम्मेदवार र दलहरूले आफ्ना कार्यक्रम, योजना र एजेन्डा प्रस्तुत गर्नुपर्ने बताउँदै घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने प्रवृत्ति चुनावी प्रतिस्पर्धामा दीर्घकालीन रूपमा टिक्न नसक्ने उल्लेख गरेका छन्।
लामिछानेले फैलाएको घृणाप्रति खेद व्यक्त गर्दै घिमिरेले प्रतिशोधको भावना भड्काएर जनतालाई भ्रमित नगर्न आग्रह गरे ।
संसदमा प्रत्येक सदस्यलाई अभिव्यक्ति दिने अधिकार भए पनि संसदीय नियमावलीअनुसार सबै वक्तालाई समान अवसर दिन समय निर्धारण हुने स्पष्ट पार्दै माइक काट्ने वा काटिने विषय सभामुखको व्यक्तिगत धारणा नभई पूर्वनिर्धारित समय र नियमअनुसार हुने जवाफ दिए ।
लामिछानेलाई पूर्वसभामुख घिमिरेले संसद्को वेबसाइटमा गएर हेर्दा आफू मात्र नभई उपसभामुख वा बैठक सञ्चालन गरिरहेका अन्य सदस्यहहरूको पालामा पनि माइक काटिएको उदाहरण भेटिने जवाफ दिएका छन् ।
घिमिरेले प्रेस नोटमा भनेका छन्–‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु– आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?’
लामिछाने जनतालाई भावनामा बहकाउँदै अगाडि बढेको घिमिरेको आरोप छ । उनले भनेका छन्–‘आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।’
मंगलबार झापा पुगेका रास्वपा सभापति लामिछानेले निवर्तमान सभामुख घिमिरेको कडा आलोचना गरेका थिए ।
झापा– २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगरका लागि मत माग्न पुगेका लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।
उनले भनेका थिए–‘मलाई थाहा छैन पूर्व सभामुख कुन मुख बोकेर भोट माग्दै हुनहुन्छ, मलाई थाहा छैन । हामीले संसदमा भिजिट भिसामा नेपालीसँग लाखौं ठगेकालाई कारवाही गर्न भन्यौं, उहाँले माइक काटिदिनुभुयो ।’
लामिछानेले पूर्वसभामुख घिमिरेलाई संसदको भन्दा बा’ को आदेश ठूलो भएको बताउँदै यस पटक जनताले जवाफ दिनुपर्ने जिकिर गरेका थिए ।
प्रेस नोट
बिर्तामोडमा आज रवि लामिछानेजीले 'जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख' भनेर म विरूद्ध घृणा फैलाउने काम गर्नुभएछ ।
लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन् । घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन ।
जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ । माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ ।
संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन । उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो । संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ- मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ । अझ बढी काटिएको हुनुपर्दछ ।
रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु । तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु- "आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?" तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन । आफू माथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु ।
झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले मैले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको स्मरण गराउँदछु ।
१२ फागुन २०८२
देवराज घिमिरे
निवर्तमान सभामुख
बिर्तामोड, झापा