काठमाडौं । उच्च खराब कर्जाका कारण नेपाल राष्ट्र बैंकबाट बारम्बार कारबाहीमा पर्दै आएको कुमारी बैंकमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा पनि छानबिन शुरु भएको छ ।
ट्याक्स हेभन देशबाट शंकास्पद रुपमा रकम भित्राएको आरोपमा सो बैंकमाथि छानबिन सुरु भएको हो ।
बैंकले दुई वर्षअघि लिचेस्टाइनको ईएमएफ माइक्रोफाइनान्स फण्ड, एजीएमभीकेबाट एक करोड डलर(एक अर्ब ४० करोड रुपैयाँ) ऋण सम्झौता गरेर ल्याएको थियो। लिचेस्टाइनमा रहेको सो कम्पनीको कुनै पृष्ठभुमी छैन ।
सम्पत्ति शुद्धीकरण र कर छलीकै लागि कुनै नेपालीले नै त्यहाँ कम्पनी खोलेर कुमारी बैंकसँग कर्जा सम्झौता गरेको राष्ट्र बैंकको सूचना छ । त्यतीबेला चलखेलका आधारमा राष्ट्र बैंकको सहमतिमा सो ऋण सम्झौता भएपनि शंकास्पद देखिएपछि अहिले छानबिन हुन थालेको हो।
बैंकमै तरलना उच्च रहेका बेला त्यसरी शंकास्पद विदेशी कम्पनीसँग ऋण सम्झौता गर्नुमा बैंकका सञ्चालक समिति र व्यवस्थापन समूहको भूमिका शंकास्पद देखिएको छ। विपन्नहरुलाई कर्जा दिन भनेर सो ऋण सम्झौता भएको थियो। तर, उदेश्यअनुसार त्यस्तो कर्जा पनि प्रवाह भएन ।
स्रोतका अनुसार हाल सोधपुछ सुरु भएपछि कुमारी बैंकले ईएमएफ माइक्रोफाइनान्स फण्ड, एजीएमभीकेसँगको कारोबार हाल नरहेको र पुरानो कारोबार सेटल भइसकेको जवाफ दिएको छ। तर, कारोबार शंकास्पद देखिएपछि यसमा छानबिन नरोकिने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
यो प्रकरणमा कुमारी बैकका तत्कालीन सिईओ रमेश राज अर्याल, वर्तमान सिईओ रामचन्द्र खनाल र व्यवस्थापनमाथि अनुसन्धान भैरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।
[insert page='382269' display='yopanipadhnuhos.php']खराब कर्जा उच्च रहेको विषयमा पनि सो बैंकमाथि राष्ट्र बैंकले छानबिन गरिरहेको छ। सो बैंकको खराब कर्जा हाल ७ प्रतिशत नाघिसकेको छ। जुन अघिल्लो वर्षको भन्दा दोब्बर हो ।
वास्तविक रुपमा हाल हाल बैंकको खराब कर्जा १० प्रतिशत पुगिसकेको छ। मिलेमतोमा कर्जा प्रवाह हुँदा यसरी ऋण उठ्न नसकेको हो।