Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेलेन्स्की प्रवृत्तिले देश दुर्घटनातर्फ जान्छ : कमल थापा

जेलेन्स्की प्रवृत्तिले देश दुर्घटनातर्फ जान्छ : कमल थापा

बुधवार , पौष १६, २०८२

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ तथा वैकल्पिक शक्तिहरूमाथि कडा प्रहार गरेका छन् ।

उनले नाम नलिइकन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रस्ताव र पछिल्लो समय देखिएको नयाँ शक्तिहरूको उदयलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको राजनीतिक प्रवृत्तिसँग तुलना गरेका छन् ।

बुधबार आयोजित एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले चर्का नारा र भावनात्मक लोकप्रियताका आधारमा सत्ता यात्रामा उत्रिने प्रवृत्ति नेपालका लागि खतरनाक हुन सक्ने चेतावनी दिए ।

रास्वपा सभापति रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सहमति गरेको चर्चाप्रति संकेत गर्दै थापाले नयाँ शक्तिहरूको अपरिपक्वताले देशलाई दुर्घटनातर्फ धकेल्न सक्ने बताए ।

‘नयाँ उदाएका शक्तिहरूमा म कता–कता युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रवृत्ति देखिरहेको छु,’ थापाले भने, ‘चर्का नारा दिएर लोकप्रियता हासिल गर्ने, त्यसैको जगमा जनमत लिने तर अपरिपक्वता र एडभेन्चरिजम देखाएर मुलुकलाई बर्बाद पार्ने हो कि भन्ने गम्भीर आशंका छ।’

उनले हास्य कलाकारबाट राष्ट्रपति बनेका जेलेन्स्कीले भू–राजनीतिक यथार्थ बिर्सँदा र पश्चिमाको बहकाउमा लाग्दा युक्रेन दशकौँ पछाडि धकेलिएको उदाहरण प्रस्तुत गर्दै नेपालका नयाँ शक्तिहरूले पनि त्यही बाटो समात्न सक्ने खतरा औंल्याए।

अध्यक्ष थापाले बालेन शाह, रवि लामिछानेलगायत नयाँ शक्तिहरू आपसमा मिल्ने वा गठबन्धन बनाए पनि उनीहरूको वैचारिक आधार अस्पष्ट रहेको जिकिर गरे।

‘उनीहरू जतिसुकै एकता, साँठगाँठ वा गठबन्धन बनाएर आए पनि सबैभन्दा पहिला त उनीहरूको वैचारिक धरातल के हो भन्ने नै थाहा छैन,’ उनले भने, ‘उनीहरू कहाँबाट परिचालित छन् भन्ने रहस्य अझै उदाङ्गो भएको छैन। एजेन्डा के हो भन्ने पनि स्पष्ट छैन।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077