काठमाडौं । जेनजी आन्दोलनको घटना अध्ययन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले प्रधानमन्त्री कार्कीलाई कामबारे जानकारी गराएको र थपिएको समयभित्रै सरकारलाई प्रतिवेदन बुझाउने तयारीमा आफू रहेको बताए ।उनले कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिसकेको पनि बताए ।
ओलीलाई बयानका लागि कहिले बोलाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने-'काम कहाँ पुग्यो भन्नेबारे छलफल भयो । एक महिना समय थप भएको छ । त्यस समयभित्रै बुझाउँछौँ । रमेश लेखकको बयान सकिसक्यो । ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ ।'
अध्यक्ष कार्कीले अध्यक्ष ओली बयानका लागि आएन भने त्यहीबेलामा थप निर्णय हुने पनि बताए ।
आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन तयारीमा लागेको छ ।
ओलीले जाँचबुझ आयोगलाई नै अवैधानिक भन्दै बयान नदिने बताउदै आएका छन्।