काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिने निर्णय सार्वजनिक गरेकी हुन् ।
कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट पार्दै तामाङले दलीय राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने बताएकी छन्। पछिल्ला केही सातादेखि राजनीतिमा प्रवेशबारे गम्भीर छलफल, सरोकारवालासँग संवाद र आत्ममन्थनपछि यो निर्णयमा पुगेको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले जेनजीका युवायुवतीसँग गरिएको प्रत्यक्ष संवाद र मत सर्वेक्षणले आफूलाई उम्मेदवारी दिने दिशामा प्रेरित गरेको उल्लेख गरेकी छन् ।
‘विगत केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्ने विषयमा सरोकारवालासँग प्रत्यक्ष संवाद र सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गरेको थिएँ,’ उनले लेखेकी छन्, ‘विशेष गरी जेनजी पुस्तासँग उनीहरूको अपेक्षा, चिन्ता र मुद्दाबारे भएको छलफलपछि स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेकी हुँ।’