एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ ।
भेनेजुएलामा सरकार समर्थक सशस्त्र अर्धसैनिक समूहले अमेरिकी नागरिकलाई लक्षित गरी पक्राउ गर्न खोजिरहेको सूचना आएको भन्दै अमेरिकी विदेश मन्त्रालयले उच्च सतर्कता अपनाउन चेतावनी दिएको हो ।
बेलायती अखबार द गार्जियन का अनुसार शनिबार जारी सूचनामा सरकार समर्थक ‘कोलेक्टिभो’ भनेर चिनिने मिलिसियाका सशस्त्र सदस्यहरूले सडकमा अवरोध खडा गरी सवारीसाधन खानतलासी गरिरहेको उल्लेख गरिएको छ।
उनीहरूले सवारीमा अमेरिकी नागरिक वा अमेरिकाका समर्थक छन् कि छैनन् भन्ने जाँच गरिरहेको जानकारी प्राप्त भएको विदेश मन्त्रालयले जनाएको छ।
सूचनामा भनिएको छ, 'भेनेजुएलामा रहेका अमेरिकी नागरिकले सडक यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन आवश्यक छ। अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन हुनासाथ तुरुन्त देश छाड्न अनुरोध गरिन्छ।'
अमेरिकाले यही जनवरी ३ तारिख भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई अमेरिका लगेको थियो। उनीहरूविरुद्ध न्युयोर्कस्थित अदालतमा हतियार तथा लागुऔषध तस्करीसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको छ।