Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महानिर्देशक प्रदिप अधिकारीलगायतलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अख्तियार सर्वोच्चमा

महानिर्देशक प्रदिप अधिकारीलगायतलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अख्तियार सर्वोच्चमा

शुक्रवार , माघ २, २०८२

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालिन महानिर्देशक प्रदिप अधिकारीसहितका आरोपितहरूलाई विशेष अदालतले कम धरौटी र साधारण तारेखमा छाडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

अख्तियारले शुक्रबार सर्वोच्चमा निवेदन दिँदै विशेष अदालतको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको हो । विशेष अदालत काठमाडौंले गत मंसिर र पुसमा गरेको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी अख्तियारले गरेको छ ।

विशेष अदालतले प्रतिवादी प्रदीप अधिकारीलाई ५ लाख र मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारेखमा रिहा गरेको थियो ।

अख्तियारले यी सबै आरोपितलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ) बमोजिम थुनामै राखेर मुद्दा अघि बढाउन माग गरेको छ । आयोगका अनुसार पोखरा विमानस्थल निर्माणका क्रममा लागत अनुमान अस्वाभाविक रूपमा बढाएर राज्यलाई ठूलो आर्थिक हानी पुर्‍याइएको छ ।

प्रतिवादीहरूले मिलेमतोमा स्वीकृत लागत अनुमान १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलरभन्दा ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर (करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ) बढी देखाएर सम्झौता गराएको अख्तियारको दाबी छ ।

अख्तियारले गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगो बमोजिमको जरिवानासहित बिगो असुलउपर गर्न माग दाबी गरिएको थियो ।

सर्वोच्चमा दायर निवेदनमा अख्तियारले विशेष अदालतको आदेश बदर गर्नुपर्ने सात वटा मुख्य आधार पेस गरेको छ :

१. मिलेमतो र बदनियत : प्रतिवादीहरूले चिनियाँ कम्पनीसँगको मिलेमतोमा लागत बढाउने उद्देश्यले तयार पारिएको प्रतिवेदनलाई विना प्रश्न स्वीकार गरेका छन् । यसले राज्यलाई अर्बौंको नोक्सानी पुर्‍याएको छ ।

२. बिगोको तुलनामा धरौटी न्यून : राज्यलाई ८ अर्ब ३६ करोडभन्दा बढी नोक्सानी पुर्‍याएको अभियोगमा ५ लाख र १ लाख धरौटी माग्नु वा साधारण तारेखमा छाड्नु न्यायोचित नभएको अख्तियारको जिकिर छ ।

३. समान कसुरमा असमान आदेश : एउटै प्रकृतिको कसुर र समान संलग्नता भएका प्रतिवादीहरूमध्ये कसैलाई धरौटी र कसैलाई साधारण तारेखमा छाड्नु सर्वोच्च अदालतको नजिर र फौजदारी न्यायको सिद्धान्तविपरीत भएको अख्तियारले औँल्याएको छ ।

४. तहगत जिम्मेवारीको बेवास्ता : सर्वोच्च अदालतले प्रतिपादन गरेको ‘पिरामिड शैली’ को सिद्धान्तअनुसार निर्णय प्रक्रियामा सहभागी सबै तहका अधिकारी जिम्मेवार हुनुपर्नेमा, अन्तिम सम्झौतामा हस्ताक्षर नगरेको बहानामा उन्मुक्ति दिन नमिल्ने तर्क अख्तियारको छ ।

५. प्रमाणको बेवास्ता : विशेष अदालतले आरोपितहरूविरुद्ध पेस भएका तत्काल प्राप्त प्रमाणहरूको उचित विश्लेषण नगरी हचुवाका भरमा आदेश दिएको अख्तियारको गुनासो छ ।

६. गम्भीर कसुर : समाज र राष्ट्रलाई गम्भीर असर पर्ने फौजदारी कसुरमा संलग्नहरूलाई ‘निर्दोषिताको अनुमान’ का नाममा छाड्दै जाने हो भने फौजदारी न्याय प्रशासन कमजोर हुने सर्वोच्चकै नजिरलाई पनि अख्तियारले स्मरण गराएको छ ।

७. प्रमाण लोपको खतरा : प्रतिवादीहरू बाहिर रहँदा प्रमाण लोप गर्न सक्ने, नयाँ कृत्रिम प्रमाण सिर्जना गर्न सक्ने र समाजमा नकारात्मक सन्देश जाने जोखिम रहेको भन्दै उनीहरूलाई थुनामै राख्नुपर्ने अख्तियारको अडान छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077