Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अबैतनिक दूत नियुक्तिमा परराष्ट्र सचिव नै मुछिए, विवादित मेनपावर व्यवसायीलाई नियुक्ति ?

अबैतनिक दूत नियुक्तिमा परराष्ट्र सचिव नै मुछिए, विवादित मेनपावर व्यवसायीलाई नियुक्ति ?

बिहिवार , माघ ८, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव नै अवैतनिक बाणिज्यदूत नियुक्तिको चलखेलमा मुछिएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृत राई जेनजी सरकारको सुशासनको धज्जी उडाउँदै सेटिङमा अवतैनिक दूत नियुक्तिमा लागेको परराष्ट्रकै एक अधिकारी बताउँछन् ।

नेपालमा ब्यापारीक सम्बन्ध नै नभएका मुलुकका समेत अवैतनिक दूत हुने र निलो नम्बर प्लेटको गाडी दुरुपयोग गर्ने धन्दा चल्दै आएकोमा परराष्ट्र सचिव नै यस्तो चलखेलमा मुछिएपछि जेनजी सरकारको सुशासन नारामा मात्र सीमित भएको छ ।

जबकि जेनजी समूहको आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गठन भएको सरकारले नेपालस्थित विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक बाणिज्यदूत (कन्सुलेट जनरल) ले प्रयोग गर्ने सवारीसाधनलाई प्रदान गरिएको नीलो नम्बर प्लेट खारेज गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय खारेज गरिए पनि सचिव राईकै कारण कार्यान्वयनमा आएको छैन, दुरुपयोग रोकिएको छैन । राईले केही विवादित म्यानपावर संचालकलाई समेत मोटो रकम लिंदै अवैतनिक बाणिज्यदूत नियुक्ति गरेको आरोप छ । स्रोतका अनुसार सचिव राईले डा. आरजु देउवा राणा परराष्ट्र मन्त्री हुँदा आर्थिक चलखेल गरी एसओएस म्यानपावर र सिटी मनी एक्सप्रेसका संचालक हेम गुरुङलाई नर्थ म्याकोडेनियाको अबैतनिक दूत बनाउने प्रक्रिया सुरु गरेका थिए ।

अहिले जेनजी सरकारको पालामा उनको नियुक्ति सदर भएर परराष्ट्रमा पत्र आइपुगेको छ । केही दिनभित्रै सचिव राईले गुरुङलाई नर्थ म्याकोडेनियाको अवैतनिक बाणिज्यदूत नियुक्तिको पत्र दिंदैछन् । म्यानपावर ब्यवसायी गुरुङले पहिला छोरीलाई अवैतनिक दूत बनाउन खोजेका थिए । तर उनको क्राइटेरिया नपुगेपछि आफैं बन्ने भएका हुन् ।

त्यस्तै अंगीकृत नागरिकता भएकै कारण लाजिम्पाटस्थित दूषित प्रिन्सेस होटलका संचालक दोर्जे ग्याल्स्टेन लामालाई भूटानले अवैतनिक बाणिज्य दूतमा नियुक्ति सिफारिस गरे पनि नेपालको गृहमन्त्रालयले डेढ बर्षसम्म रोकेको थियो । तर परराष्ट्र सचिवमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई बढुवा गरेपछि सेटिङ मिलाएर प्रोटोकल नै मिचेर आफैंले पत्र दिएका थिए ।  जबकि अवैतनिक बाणिज्यदूतको पत्र दिने काम परराष्ट्र मन्त्रालयको चिफ अफ प्रोटोकलको हो ।

त्यहाँ चिफ अफ प्रोटोकलको तस्वीर देखिंदैन । सचिव राईले डेढ बर्ष रोकिएको दोर्जेको नियुक्ति गृहमन्त्रालयमा चासोका साथ समन्वय गरी दिलाएका हुन् । जसबापत दोर्जेले राईलाई आकर्षक आर्थिक सहयोग गरेको स्रोत बताउँछ । तत्कालीन परराष्ट्र मन्त्री आरजु राणाले भूटानको अवैतनिक दूत अन्नपूर्ण होटलकी संचालक सृजना राणालाई बनाउन खोजेकी थिइन् ।

नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य हरि कार्की पनि भूटानकै अबैतनिक दूत बन्न लागिरहेका थिए । उनी भूटान एयरलाइन्सको कार्गोको जीएसए लिएको कम्पनीका संचालकसमेत हुन् । स्रोतका अनुसार यी दुबैलाई पन्छाएर यति एयरलाइन्सका संचालक सोनाम शेर्पाले सचिव राईसँग मध्यस्थता गरी दोर्जे ग्याल्स्टेन लामालाई नियुक्ति दिलाएका थिए ।

सचिव राईले अवैतनिक दूत नियुक्तिमा हुने आर्थिक लाभ देखेपछि बदनाम म्यानपवार ब्यवसायीलाई समेत भटाभट नियुक्ति दिने प्रक्रिया अगाडि बढाएका छन् । विवादमा आइरहने म्यानपावर ब्यवसायी वाईबी राईलाई सचिव अमृत राईले उज्वेकिस्तानको अवैतनिक दूत बनाउने प्रक्रिया सुरु भएको परराष्ट्र स्रोत बताउँछ ।

वाईबी राई तिनै ब्यक्ति हुन् जो फ्री भिसा फ्री टिकटमा कामदार पठाइदिन्छु भनेर आरजु राणा र माधव नेपालदेखि केपी शर्मा ओलीसम्मलाई प्रभावमा राख्दैआएका छन् । गर्दै नगरेका कामको प्रचार गर्न युट्युबेहरु बोकेर हिंड्ने वाईबी राईकै कारण माधव नेपाल र आरजु राणा गएको निर्वाचनमा विवादमा तानिएका थिए ।

वाईबीको प्रभावमा परी आरजुले कैलालीमा र माधव नेपाल रौतहटमा ‘बिना ढेउवाके’ बिदेश पठाउने भाषण गर्दा विवादमा परेका थिए । मलेसियामा कामदार पठाउन सीमित म्यानपावरलाई दिने गरी सेटिङ गर्नेमा पनि वाईबी मुछिंदैआएका छन् । इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट कम्पनी संचालन गर्दैआएका राईले आफन्तको नाममा अर्को म्यानपावर कम्पनी पनि संचालन गर्दैआएका छन् । इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट कम्पनी संचालक वाईबी राई

बंगलादेशका अमिन मार्फत् नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ३ दर्जन कम्पनीलाई मात्र सिन्डीकेट गरी संचालन गरिएको छ । नेपाली कामदारसँग चर्को शुल्क लिएर स्वास्थ्य परीक्षण गरिएकोबारेमा बिरोध भइरहेको बेला कामदार पठाउन सीमित म्यानपावरलाई मात्र दिनेगरी शरदसिंह भण्डारी मन्त्री हुँदा सेटिङ गरिएको थियो । जुन सेटिङ कैलाश खड्का र वाईबी राईहरुले मिलेर गरेको आरोप छ ।

परराष्ट्र सचिव अमृत राईमार्फत् उज्वेकिस्तानको अवैतनिक बाणिज्यदूत बन्न लाग्नुभएको हो भन्ने अनलाइन नेपालको प्रश्नमा उनै वाईबी राईले सुरुमा कसरी थाहा पाउनुभयो भनी सोधे । पछि एकाएक नाटकीय रुपमा बोली परिवर्तन गर्दै उनले अवैतनिक बाणिज्य दूत भनेको के हो, मलाई थाहा नै छैन भन्दै अनभिज्ञता प्रकट गरे । परराष्ट्र सचिव अमृत राईसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी अनलाइन नेपालको सम्पर्कमा आएनन् ।

अवैतनिक दूतमा तस्करीमा मुछिएकादेखि कालोबजारी गर्नेसम्म

भारतबाट तस्करीको चिनी ल्याएर नेपाली उद्योगको ट्याग झुन्ड्याएर बिक्री गर्ने र ६ अर्ब उखु किसानको नाममा भ्याटफिर्ता लिएर खाने शशीकान्त अग्रवाल इक्वेडरका दूत हुन् । मेरियट होटलका संचालक शशीकान्तले उनका छोरालाई ग्वाटेमालाको अवैतनिक दूत बनाउन खोजेका थिए । तर उमेर नपुगेपछि बन्न पाएनन् ।

कूटनीतिक नम्बर प्लेटको गाडी निर्वाध प्रयोग गर्न पाउने भएकाले अवैतनिक बाणिज्यदूत हुनका लागि ब्यवसायीहरुबीच चर्को प्रतिस्पर्धा हुँदैआएको छ । नेपालमा कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले लकडाउन घोषणा गरेको मौकाछोपी २०७६ चैत २५ मा ज्वरो नाप्ने थर्मल गन कालोबजारी गर्दागर्दै किर्गिस्तानका अवैतनिक दूत सुलभ अग्रवाल प्रहरी प्रधान कार्यालय अगाडि नक्सालबाट पक्राउ परेका थिए । कूटनीतिक नम्बर प्लेटको गाडीमा थर्मल गनको कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए ।

कूटनीतिक नम्बर प्लेटको गाडीमा थर्मल गन कालोबजारी गरेको बिषय जोडतोडले उठेपछि तत्कालीन केपी ओली नेतृत्वको सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सबै अबैतनिक बाणिज्य दूतहरुले निलो प्लेटको गाडी प्रयोग गर्न नपाउने निर्णय गरेका थिए । तर ओलीपछि सर्वोच्च अदालतको परमादेशबाट आएको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले २०७८ पुसमा अवैतनिक बाणिज्यदूतले नीलो नम्बर प्लेटको सवारीसाधन प्रयोग गर्न दिने निर्णय गरेका थिए ।

जुन निर्णयपछि अवैतनिक दूत हुने होडबाजी नै चल्दैआएको छ । २०७७ जेठ १० गते कोरोना महामारीकै समयमा एनआईसी एशिया बैंकका अध्यक्ष अशोककुमार अग्रवाललाई प्रहरी बृत्त दरबारमार्गले जुवा खेल्दाखेल्दै पक्राउ गर्यो । उनी पश्चिम अफ्रिकी मुलुक गिनीका अवैतनिक बाणिज्य दूत हुन् । नेपालमा अवैतनिक दूतलाई कूटनीतिक सुविधाको नम्बर प्लेट भएको गाडीदेखि विदेश जाँदा विमानस्थलमा भीआइपी कक्ष प्रयोग गर्न दिने जस्ता सुविधा दिने गरिएको छ ।

सिंहदरबार प्रवेशदेखि विशिष्ट भेटघाट जस्ता सुविधा दिने गरेको छ । नेपालमा कूटनीतिक उन्मुक्ति पाउने भएपछि सुलभ अग्रवाल, अशोक अग्रवाल जस्ता ब्यापारीहरुले सम्बन्धित देशका बिचौलियामार्फत् घुस खुवाएरै नेपालको अवैतनिक दूत नियुक्त हुने गरेको कूटनीतिक मामिलाका जानाकारहरु बताउँछन् ।

अवैतनिक महाबाणिज्यदूत (अनररी कन्सुलर) एक मानार्थ पद हो । तर नेपालमा अवैतनिक दूत कानुनविपरीत काम गरी उन्मुक्ति पाउनका लागि लिने क्रम बढेको छ । यसरी अवैतनिक दूतको पगरी लिएर त्यसको आडमा कूटनीतिक सुविधा लिनेहरुमा चौधरी ग्रुपका प्रमुख विनोद चौधरीको परिवारका ६ जना छन् ।

उनका भाइहरु वसन्तकुमार चौधरी मोरक्को र अरुणकुमार चौधरी हंगेरीका दूत हुन् । चौधरीका जेठा छोरा निर्वाणकुमार चौधरी सर्बियाका दूत हुन् भने माइला छोरा राहुल चौधरी माल्दिभ्सका दूत छन् । कान्छा छोरा बरुण चौधरी काजकिस्थानका हुन् । अरुण चौधरीका साला मोरङ अटोवक्र्सका संचालक बिष्णु अग्रवाल चेक रिपब्लिकका अवैतनिक दूत हुन् । त्यस्तै किर्गिस्तानका दूत सुलभ अग्रवालका भाइ साहिल अग्रवाल पनि अवैतनिक दूत हुन् । साहिल बोस्निया हर्जगोभिनियाका अवैतनिक दूत हुन् ।

जुन देश युद्धले जर्जर भएको र नेपालसँग कुनै पनि हिसाबले औपचारिक सम्बन्ध नभएको देश हो । राजेन्द्र खेतान पोर्चुगलका दूत हुन् । खेतानका भाइ प्रेमप्रकाश खेतान टर्कीका दूत हुन् । राजेन्द्र खेतानले श्रीमती सारिकालाई रोमानियाको अवैतनिक दूत बनाएका थिए । आइएमई ग्रुुपका अध्यक्ष चन्द्र ढकाल इण्डोनेसियाका लागि अवैतनिक बाणिज्य दूत हुन् भने अजय सुमार्गी बेलारुसका हुन् ।

एसिएन एयरका संचालक ब्यवसायी आङछिरिङ शेर्पा बेल्जियमका दूत हुन् । मनकामना केबलकारका राजेशबाबु श्रेष्ठ अष्ट्रियाका लागि अनररी कन्सुलर हुन् । चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भियतनामका दूत हुन् । फिजीमा पारस शाक्य रहेका छन् ।

कुमारी बैंकका लगानीकर्ता तथा गोल्डस्टार जुत्ता उत्पादक अमिरप्रताप राणा क्रोयसियाका दूत छन् । ज्योति ग्रुपका पदमज्योति साइप्रसका हुन् । पंचकन्या ग्रुपका प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाका दूत हुन् । शारदा ग्रुपका शिवरतन शारदा जर्जियाका दूत हुन् । ग्रिसका विक्रम पाण्डे हु्न् । उनी पर्यटन ब्यवसायी हुन् । यी पाण्डे पूर्वमन्त्री तथा कालिका कन्ष्ट्रक्सनका संचालक हुन् भन्ने भ्रम धेरैलाई परेको छ ।

इरानमा नरेश श्रेष्ठ, आयरल्याण्डका मनोजबहादुर श्रेष्ठ, इटलीमा प्रतिमा राणा पाण्डे, लात्भियाका कर्ण बैद्य, लिथुहनियाका शोभाकर न्यौपाने, लक्जमबर्गका श्रीराम लामिछाने छन् । इथोपियाको राजेन्द्र गिरी, इष्टोनियाको नवराज दाहाल, डेनमार्कका हरि धरेल, कोलम्बियाको विनयमान श्रेष्ठ, चिलीका वसन्तराज मिश्र, क्यानडाका बुद्ध बस्नेत, बुल्गेरियाका भोलाविक्रम थापा बाणिज्यदूत छन् । दाहाल र धरेल पर्यटन ब्यवसायी हुन् । उनीहरु दुवै एशोसिएसन अफ ट्रेकिङ एजेन्टस् नेपाल(टान)का पूर्व अध्यक्ष हुन् ।

थापा पुराना ट्राभल संचालक हुन् । माल्टाका दिनेश श्रेष्ठ, मेक्सिकोका नरेश दुगड, मंगोलियाका दूत छेतेन गुर्मेन श्रेष्ठ छन् । पेरुका सुमितकुमार अग्रवाल, फिलिपिन्सका सुरज बैद्य, पोल्याण्डका लोकमान्य गोल्छा, स्लोभाक रिपब्लिकका पासाङदाबा शेर्पा, स्वीडेनका गजेन्द्रबहादुर श्रेष्ठ, तान्जेनियाका राजेश चौधरी र युक्रेनका किरण बैद्य छन् । सहकारीका जीबी राई भनेजस्तै हाइड्रोका गणेश कार्की पनि मौरिससका अवैतनिक महाबाणिज्यदूत भएका छन् । गोल्डास्टार सूज कम्पनीकी सीईओ बिदूषी राणालाई गतबर्षमात्र आईसल्याण्डको अवैतनिक दूत बनाएको थियो । उनी रास्वपाको समानुपातिक सांसदमा परेका कारण अब उनले अवैतनिक दूतको पद त्याग्नुपर्छ । हाई हिमालयन हाइड्रोपावर कम्पनीका किरण मल्ल अर्मेनियाका अवैतनिक बाणिज्य दूत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077