काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गतेको घटनामा आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफू र एमालेविरुद्ध गलत प्रचार भइरहेको भन्दै त्यसमा नपर्न आग्रह गरेका छन् ।
ओलीले केही पक्षले भदौ २३ गतेको घटनालाई तोडमोड गरी प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको जस्तो भ्रम फैलाइरहेको दाबी गरेका छन्। उनले यस्तो आरोप पूर्ण रूपमा निराधार रहेको उल्लेख गर्दै संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको बताए ।
'त्यस्तो आदेश मैले कहिल्यै दिएको छैन, न त दिन सोच्न नै सक्छु,' ओलीले लेखेका छन्। उनले संसद् भवनअगाडि आगो लगाउने प्रयास तथा विष्फोटक पदार्थ प्रयोग भएको अवस्थालाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने स्पष्ट पारे।
संसद् भवनभित्र सुरक्षाकर्मीमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको र त्यसपछिका दुई घण्टामा भएका घटनाले सबैलाई गहिरो पीडा दिएको उनले उल्लेख गरेका छन्।
ओलीले आफू कुनै पनि मञ्चमा बसेर खुला रूपमा प्रश्नको उत्तर दिन तयार रहेको भन्दै सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारबाट प्रभावित नहुन आग्रह गरेका छन्।
घटनामा ज्यान गुमाएका १९ जना युवाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले एउटा गम्भीर प्रश्न पनि उठाएका छन्।
'माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील र कानुनले बल प्रयोग गर्नैपर्ने स्थानतर्फ कसले, किन र कसरी लग्यो ? यसको पनि जवाफ खोजिनुपर्छ,' ओलीले भनेका छन्।