मोरङ । मोरङको रंगेली नगरपालिका क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–२ का ४५ वर्षीय सहमद हुसेन र ४३ वर्षीय महेन्द्र मेहता पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सहमद हुसेनले रंगेलीस्थित नवीन पुरीको पसलमा रेडबुल खरिद गर्दा तथा उज्ज्वल ढकालको किराना पसलमा उधारो रकम तिर्ने क्रममा एक हजार दरका शंकास्पद नोट दिएका थिए। नोटको बनावटमा शंका लागेपछि पसल सञ्चालकहरूले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले हुसेनलाई नियन्त्रणमा लिई उनले चलाउने प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारी जाँच गर्दा सिटमुनि लुकाइराखिएको अवस्थामा थप नक्कली नोटहरू बरामद गरेको जनाएको छ।
अनुसन्धानका क्रममा हुसेनको बयानका आधारमा माघ १४ गते बिहान महेन्द्र मेहताको घरमा समेत खानतलासी गरिएको थियो। सो क्रममा मेहताको घरबाट पनि नक्कली नोटहरू फेला परेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनाको साथबाट एक हजार दरका नौ थान नक्कली नेपाली नोट बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।