काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार राती काठमाडौंको मूलपानीमा गोली नै चलाएर काठमाडौं उपत्यकामा रातिको समयमा लुट आतंक मच्चाउँदै आएको एक समूहलाई नै नियन्त्रणमा लिएको छ ।
एकै रातमा ४ वटासम्म लुटपाटमा संलग्न रहेका १० जना नै पटके अपराधी भएको खुलिसकेको छ । उक्त समूहको मुख्य नाइके विनय तामाङ हुन् ।
तामाङको समूहले काठमाडौं उपत्यकामा रातिको समयमा लुट आतङ्क नै मच्चाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी स्रोतका अनुसार उनीहरूले एकै रातमा ४ वटासम्म लुटपाट गरेको देखिन्छ ।
प्रहरीले गोली प्रहार गरी नियन्त्रण लिएका १० जना उपत्यकामा २२ वटा लुटपाटका घटनामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
काभ्रे स्थायी घर भएको तामाङ तिनै व्यक्ति हुन्, जो भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जको हिरासतमाबाट भागेका थिए । त्यतिबेला पनि उनी लुटपाट आरोपमै प्रक्राउ परेको प्रहरी स्रोत बताउँछ ।
उनीहरुले साँझको समयमा हिँड्ने महिलाहरूको कानको गहना लुस्ने र एकान्तमा मानिसहरूलाई लुटेर उनीहरू मोटरसाइकलमा भाग्ने गरेका थिए ।
आरोपीहरूले साह्रखुट्टेमा ४ वटा, बौद्ध क्षेत्र, महाराजगन्ज, गौशाला र भक्तपुरको थिमीमा लुटपाट गरेको अनुसन्धानका क्रममा खुलेको काठमाडौं प्रहरी स्रोत बताउँछ ।
बुधवार राति प्रहरीले गोली प्रहार गरेर उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा तामाङको दायाँ खुट्टामा गोली लागेको छ । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रक्राउ परेका १० जनालाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।