Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेन लक्षित ओलीको टिप्पणी–प्यासेन्जरसम्म भएर प्लेन चढेकालाई पाइलट बन्ने रहर जागेछ

बालेन लक्षित ओलीको टिप्पणी–प्यासेन्जरसम्म भएर प्लेन चढेकालाई पाइलट बन्ने रहर जागेछ

चुनावमा धाँधली गर्न दोस्रो चरणको बखेडा झिक्न खोजेको ?

बुधवार , माघ २१, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई चरणमा चुनाव गर्न खोजेर सरकारले धाँधली गर्न खोजिरहेको भन्दै आशंका व्यक्त गरेका छन् ।

आज साँझ काठमाडौंमा रहेका झापालीसँग निर्वाचन विशेष भेटघाट कार्यक्रममा ओलीले हिमाली भेगमा निर्वाचन हुन नसक्ने भन्दै दुई चरणमा गर्न लागेको कुरा सुनिरहेको बताए ।

पार्टीका प्रतिनिधि वा उम्मेदवारको आँखाबाट एक सेकेन्ड पनि बाक्सा ओझेल पर्न नहुने भन्दै उनले भने–‘तत्काल भोट सकिएपछि बाक्सा गन्ने ठाउँमा प्रतिनिधिहरूको पार्टीका प्रतिनिधिहरूको रोहबरमा उनीहरूका आँखा अगाडि गन्ने ठाउँमा पुर्‍याइनुपर्छ र बाक्सा खोलेर तत्काल गनिनुपर्दछ । बाक्सा राखेर छोडेर जाऊ हामीमाथि विश्वास गर होइन भने डन्डा लगाएर विश्वास गराउँछौँ । के हो त्यस्तो ? निर्वाचन हुँदैछ भन्ने कुरामा हामीलाई विश्वास भइरहेको छैन ।’

हिमाली भेगमा हिउँ पर्छ भन्ने कुरा अस्ति थाहा नहुने, अहिले आएर कसरी थाहा भो भनेर प्रश्न गर्दै उनले भने–‘हामीले उहिले भनेका छौँ एकैचोटिलाई मिति राख, अहिले पनि हामी भन्न चाहन्छौँ–भ्याइँदैन भने मिति सार, एकै दिन निर्वाचन हुनुपर्दछ, सोझै निर्वाचन भइसकेपछि मतगणना गरिनुपर्दछ । धाँधली गरेर निर्वाचनको नाटक चल्दैन ।’

यदि राज्य कसलाई जिताउने र कसलाई हराउने भनेर लाग्छ भने त्यसले अनिष्ट पैदा गर्ने ओलीले चेतावनी दिए । उनले भने–‘मैले अस्ति देखि भनिआएकै छु, फेरि पनि भन्न चाहन्छु। नेकपा एमालेको यो अनुरोध हो। कुनै रोदन भन्ने नठान्नुहोला यो रोदन होइन, प्रतिवाद हुनेछ त्यो पनि म भन्न चाहन्छु ।’

एमाले चुनाव लड्नकै लागि भनेर चुनावकै मुखमा स्थापना भएको पार्टी नभएको बताउँदै उनले भने–‘चुनाव आउन लाग्यो भनेपछि आयोगमा दर्ता गरेर यसो चुनाव उठिहालौँ त दुई–चार जना चुनाव लडी खेलौँ भनेर चुनाव लडी खेल्नका लागि बनाएको पार्टी होइन एमाले । यो देश बनाउने जिम्मेवारी लिएको पार्टी हो। सरकारको निष्पक्षताको ग्यारेन्टी हुनुपर्छ । पेलपाल चल्छ भन्ने सोचेको छ भने त्यो नसोच्दा हुन्छ । देशमा ठूलो अनिष्ट हुन सक्छ यदि राज्यले पेलपाल गर्न खोज्यो धाँधली गर्न खोज्यो भने।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश चलाउनु गुच्चा खेल्नु नभई सोँच, नीति, दर्शन र सिद्धान्त चाहिने बताए । प्रतिस्पर्धी बालेन्द्र साह ‘बालेन’प्रति लक्षित गर्दै ओलीले प्यासेन्जरसम्म भएर प्लेन चढेकालाई पाइलट बन्ने रहर जागेको भन्दै कटाक्ष गरेका छन् ।

ओलीले भने–‘पुराना पार्टी काम लाग्दैनन्, पुरानाले हुँदैन, केही नजानेका गुलेली मट्याङ्ग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरूलाई ल्याएर जिम्मा लाइदिनुपर्छ देश । यस्तो भनिँदैछ । अमेरिकामा के भनिन्छ ? ८० वर्षका अनुभवी त्यहाँ नेता छन्। त्यसकारण देश जोगिन्छ देश बन्छ भनिन्छ अमेरिकामा । नेपालमा चाहिँ ७० वर्षका बुढाले पनि देश चलाउँछ ? भन्छन् । दुनियाँमा कहीँ सुनिँदैन यो नयाँले देश चलाउँछ भन्ने। कहिले आफूलाई मात्रै भोट हाल्छु, कहिले भोटै हाल्दिनँ भन्ने भोट हालेभन्दा परको कुनै अनुभव नभएका मान्छे प्यासेन्जरसम्म भएर प्लेन चढेका मान्छेलाई पाइलट बनाउनुपर्छ भन्ने पनि कुरा चल्छ । त्यस्ता प्लेनमा को चढ्ला ? पाइलटको सीटमा नबसेकाहरू पाइलट भएर देश चलाउने ? सिकेकै छैन, के हुन थालेको देश ?’

मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे उच्च पहाडी र हिमाली भूभागमा मौसम प्रतिकूल भयो भने फागुन २१ गते चुनाव गर्न समस्या हुन सक्ने बताएकी थिइन् । 

उनले दोस्रो चरणमा चुनाव गर्न सकिने बताएकी थिइन् । तर, ओलीले भने त्यसलाई धाँधलीको संज्ञा दिएका छन् । यद्यपी फागुन २१ मा उच्च पहाडी जिल्लमा भने निर्वाचन गर्न कठिन छ । डोल्पाको शेफोक्सुन्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुकले एक महिनाअघि नै जिल्ला प्रशासन कार्यालयलाई चिठी लेखेर ‘फागुनमा हिउँ पर्ने हुँदा चुनाव गराउन गाह्रो पर्ने’ जानकारी दिएका थिए।

सम्डुकको उक्त पत्रको बोधार्थ निर्वाचन आयोगमा पनि आइपुगेको थियो। तर आयोगले गाउँपालिकालाई कुनै जबाफ दिएन।

जिल्ला प्रशासन कार्यालय डोल्पाले पनि उपल्लो हिमाली क्षेत्रमा फागुन महिना निर्वाचन गराउन सहज नभएको भन्दै आयोगलाई ध्यानाकर्षण गराएको थियो। तर आयोगले अझै निर्वाचनको मिति सार्ने वा वैकल्पिक व्यवस्था गर्ने विषयमा कुनै जबाफ फर्काएको छैन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077