सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि कारागारका ‘नाइके’ भनिने व्यक्तिसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनेर चिनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकाल्ने कार्य गरेको थियो।
सो घटनापछि प्राप्त गोप्य सूचनाका आधारमा सोमबार सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा कटुवा पेस्तोल र गोली फेला परेको उनले जानकारी दिए ।
हतियार बरामदसँगै घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा राखिएको प्रजिअ पौडेलले बताए ।
यसैबीच नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका उनका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेका छन् ।
घटनापछि कारागार क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको र स्थिति नियन्त्रणमा लिन थप सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।
कारागारको क्षमता १५० जनाको भए पनि हाल ४३७ जना कैदीबन्दी राखिएको छ। क्षमताभन्दा धेरै कैदीबन्दी भएकै कारण कारागारमा बारम्बार तनाव उत्पन्न हुँदै आएको बताइएको छ।
यसअघि गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए। प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।