काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदातालाई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले पार्टीका उम्मेदवार तथा प्रचारप्रसारमा खटिएका नेता–कार्यकर्तालाई जनतासामु एमालेले गरेका कामहरूको स्पष्ट विवरण प्रस्तुत गर्दै मत माग्न निर्देशन दिएका छन्।
ओलीले भनेका छन्, 'देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा एमालेका उम्मेदवार र प्रचारक साथीहरूलाई मेरो आग्रह छ– मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्। किनकि एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो।'
उनले मतदातालाई भावनामा भड्काएर होइन, तथ्य र उपलब्धिको आधारमा मतदान माग्नुपर्ने बताएका छन्।
'परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नुपर्छ। बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नुपर्छ,' ओलीले उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले पछिल्लो समय मतदातालाई डिजिटल भ्रमको ‘इको च्याम्बर’ भित्र कैद गर्ने प्रवृत्ति बढेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे।
उनले मतदाताले उम्मेदवारसँग प्रत्यक्ष संवाद गरेर, प्रश्न गर्ने अवसर पाएर, उत्तर सुनेर सत्य छुट्याउने वातावरण निर्माण हुनुपर्ने बताएका छन्।
'मतदातालाई भ्रमको डिजिटल इको च्याम्बरभित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर मतदान गर्ने अवसर दिनुपर्छ,' ओलीले भनेका छन्।
उनले कसैको दबाब वा डरमा परेर चुपचाप मतदान नगर्न मतदातालाई आग्रह गर्दै भने, 'साइको थ्रेटले भन्छ– चुपचाप छाप। स्वस्थ निर्वाचन संस्कृतिले भन्छ– आँखा जुधाएर विमर्श र निर्णय।'
अन्त्यमा ओलीले मतदातालाई सन्देश दिँदै भनेका छन्, 'त्यसैले हाम्रो आह्वान– चुपचाप छाप होइन, सोचीविचारी छाप। आँखा खोलेर भविष्य निर्माण ।'