Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गुणस्तरीय स्वास्थ्य सेवासहित धनगढीमा खुल्यो केयरटेकर हस्पिटल

गुणस्तरीय स्वास्थ्य सेवासहित धनगढीमा खुल्यो केयरटेकर हस्पिटल

मंगलवार , माघ २७, २०८२

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको केयरटेकर अस्पताल प्रालि नयाँ व्यस्थापनसहित सञ्चालनमा आएको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीले अस्पतालका सेवासुविधाबारे जानकारी दिँदै औपचारिक रुपमा सञ्चालनमा आएको बताएका हुन् । उनले अब स्वास्थ्य सेवा पैसाको पहुँचमा सीमित नहुने बताए । 

'सरकारी अस्पतालमा भीड र निजी अस्पतालमा महँगो शुल्कको बीचमा सर्वसाधारण नागरिक समस्यामा छन्। यही खाडल पूर्ति गर्न केयरटेकर अस्पताल स्थापना गरेका हौँ,' अध्यक्ष शाहीले भने।

अस्पतालमा सरकारी अस्पताल सरह किफायती शुल्क लिइने र सेवा, प्रविधि तथा व्यवस्थापन भने निजी अस्पताल स्तरको हुने शाहीले उल्लेख गरे।

अस्पतालमा हाल १०० शय्याको बेड क्षमता रहेको छ। २४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालनमा रहेको अस्पतालमा जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी तथा मेरुदण्ड, छाला तथा सौन्दर्य, मुटुरोग, रेडियोलोजी, नाक–कान–घाँटी, डेन्टल, फिजियोथेरापी लगायतका विशेषज्ञ सेवाहरू उपलब्ध छन्।

त्यस्तै, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी, युरो सर्जरी र न्युरो सर्जरी सेवा समेत सुरु भइसकेको अस्पतालले जनाएको छ।

आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड सेवा र संक्रमण नियन्त्रण प्रणालीसहितको सुरक्षित शल्यक्रिया कक्ष अस्पतालको विशेषता हो ।

अस्पताल परिसर १ बिघा क्षेत्रफलमा फैलिएको छ, जहाँ पर्याप्त पार्किङ सुविधा उपलब्ध छ। बिरामी र आफन्तको सहजताको लागि एसी जडान, हरियाली वातावरण, हिँडडुल गर्न मिल्ने पार्क र २४ सै घण्टा एम्बुलेन्स सेवा पनि उपलब्ध छ।

केयरटेकर अस्पतालले आफूलाई उपचार केन्द्रमा मात्र सीमित नराखी स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ।

निकट भविष्यमै नर्सिङ तथा स्वास्थ्य अध्ययन कार्यक्रम सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ। साथै, भेन्टिलेटरयुक्त एम्बुलेन्स र सीटी स्क्यान सेवा जडान गर्ने तयारी भइरहेको छ । जसले क्षेत्रका बिरामीलाई ठूलो शहर धाउनुपर्ने बाध्यता हटाउने अध्यक्ष शाहीले बताए ।

अस्पतालले ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ। सहुलियतपूर्ण उपचार, औषधि र नियमित चेकजाँचमार्फत बिरामी–डाक्टर सम्बन्धलाई सुदृढ बनाउने प्रतिबद्धता पनि अस्पतालले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077