विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनमा आफू सहभागी भएको भए पार्टी फुट्ने अवस्था आउने देखेरै नगएको बताएका छन् ।
बुधबार साँझ विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँगको छलफलमा कोइरालाले पार्टीलाई एकढिक्का राख्नकै लागि आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।
उनले भने, 'म विशेष महाधिवेशनमा गएको थिएँ भने कांग्रेस दुई टुक्रा हुने थियो, त्यसलाई रोक्न र पार्टी बचाउनकै लागि नगएको हो ।'
डा. कोइरालाले पार्टी केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने कुरा आफूले स्पष्ट रूपमा राखेको तर त्यसअनुसार निर्णय नभएपछि आफू सहभागी नभएको बताए ।
चुनावमा धेरै अग्रज नेताहरू बाहिरिँदा कांग्रेसमा अभिभावकत्वको अभाव नहोस् भनेर अन्तिम समयमा उम्मेदवार बन्ने निर्णय गरेको उनले बताए ।