काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्।
ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा संघ संघीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजित शुभकामना आदान(प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका हुन्।
'नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा परिचित छन्, शताब्दीयौंदेखि नेपालको हिमाली क्षेत्रबाट फैलिएका यो जाति आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्र नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नु खुशीको विषय हो,' उनले भने ।
उनले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको बताउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउनु सबैको साझा दायित्व भएको बताए।
राष्ट्रपतिले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदायले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे।