Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने- राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक

गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने- राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन्। 

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको बताएका छन् ।

उनले नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यतालाई आत्मसात गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको आधार निर्माण गरेको बताए । वर्तमान व्यवस्थाले सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुर्‍याएको दाबी गर्दै उनले स्थानीय र प्रदेश सरकारहरूले संविधानअनुसार जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे ।

यसैगरी राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतालाई संविधानको महान उपलब्धिका रूपमा व्याख्या गर्दै जनताको घरआँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको बताए । शासकीय संरचनामार्फत नागरिकका गुनासा सम्बोधन हुने अभ्यासले लोकतन्त्रको जग थप बलियो बनाएको उनको भनाइ थियो ।

यस्तै लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुने मान्यता स्थापित भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रताको सुनिश्चितता गरेको उनले बताए ।

गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उनले बताए।

'यसले देशवासीलाई जोडेको छ, साझा राष्ट्र बनाउने सङ्कल्प अभिप्रेरित गरेको छ। यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको महान् प्रेरणा हो,' उनले भने। 

साथै राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन सबैले राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

उनले थप भने- 'यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा देओस्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077