काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब ११ दिन मात्र बाँकी छ ।
निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएको छ ।
आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको छ।
आयोगले यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएको जनाएको छ।
आममतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगले उल्लेख गरेको छ।
मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ।
यस्तै निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति र संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगले अधिकतम प्रयास गरिरहेको छ।