काठमाडौं । पोखराको लिची बगैँचा जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई विशेष अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
आइतबार अदालतमा उपस्थित भएकी श्रेष्ठलाई न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
अदालतले मुद्दाको थप सुनुवाइ जारी रहने जनाउँदै धरौटीमा छाड्न अनुमति दिएको जनाएको छ। गत असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित लिची बगैँचा जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि व्यवस्थामन्त्री श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा चलाएको हो।
अख्तियारका अनुसार कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती गरिदिने विषयमा बिचौलियामार्फत घुस लेनदेन भएको अडिओ सार्वजनिक भएको थियो।