कैलाली । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार जारी गरेको सूचनामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमानाकामा बन्द गर्ने निर्णय भएको उल्लेख छ ।
यही फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुञ्जेलसम्म सवारी साधन बन्द हुनेछन् ।
एम्बुलेन्स, ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावारीसाधन भने सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।