Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिकटकर तुलसाविरुद्ध सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा, अनुसन्धानमा आउन प्रहरीको अनुरोध

टिकटकर तुलसाविरुद्ध सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा, अनुसन्धानमा आउन प्रहरीको अनुरोध

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी ‘तुलसा’ भनिने तुल्सी अधिकारीलाई नेपाल प्रहरीले भ्रामक सूचना नफैलाउन र अनुसन्धान निकायमा उपस्थित हुन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जारी गरेको सूचनामा कानून बमोजिम अनुसन्धान जारी रहेको विषयमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने कार्य नगर्न आग्रह गरिएको हो । 

प्रहरीका अनुसार सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा तुल्सी अधिकारीविरुद्ध ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) कसुरमा जाहेरी दिएका थिए । सो जाहेरी दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

२० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकबाट प्राप्त सुझावअनुसार अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अनुसन्धान सुरु गरिएको छ । विभागका अनुसार २०८१ फागुन १९ गते अधिकारीका नाममा उजुरी दर्ता भएको देखिएको र ठेगाना नवलपरासी (बसुप) सुनवल नगरपालिका–६ उल्लेख रहेको पाइएको छ ।

सम्पत्ति शुद्धीकरण ऐनको दफा ३ उपदफा (१) का खण्ड (क), (ख), (ग) ले निषेध गरेका गतिविधि—अवैध रूपमा आर्जित सम्पत्तिको रूपान्तरण, हस्तान्तरण वा लुकाउने कार्य—सम्बन्धी तथ्य र प्रमाण संकलन गर्न सुझाव दिइएको प्रहरीले जनाएको छ।

अधिकारीले आफू नेपालमै हुँदा छलफलका लागि नबोलाइएको र चीन पुगेपछि मात्र पक्राउ पुर्जी जारी गरिएको दाबी गर्दै टिकटकमार्फत प्रहरीको आलोचना गरेकी थिइन् । “म भदौ १९ गतेसम्म नेपालमै थिएँ, मलाई कुनै खोजखबर गरिएन,” उनले सार्वजनिक रूपमा भनेकी छन्।

यसप्रति प्रतिक्रिया दिँदै प्रहरीले अनुसन्धानलाई प्रभावित पार्ने फोटो, भिडियो वा सूचना सार्वजनिक गरेमा त्यस्ता गतिविधि पुनः अनुसन्धानको विषय बन्न सक्ने चेतावनी दिएको छ ।

प्रहरीले कानूनबमोजिम भइरहेको अनुसन्धानमा सहयोग गर्न, सम्बन्धित निकायमा उपस्थित भई आफ्ना भनाइ राख्न र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सबै पक्षसँग हार्दिक अनुरोध गरेको छ।

May be an illustration of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077