काठमाडौं । सामाजिक सञ्जालमा ‘तुलसा’ नामले चिनिने तुल्सी अधिकारीसहित १० जनाविरुद्ध ६ करोड ५२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत ललितपुरमा जवर्जस्ती रकम असुली, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो ।
अभियोगपत्र अनुसार तुल्सी अधिकारीले धन आर्जनलाई मुख्य उद्देश्य बनाएर सहमतिमा भएको शारीरिक सम्बन्धलाई नै ‘हतियार’ बनाउँदै पीडितलाई धम्क्याएको दाबी गरिएको छ ।
उनले “माने अनुसार नभए बलात्कारको मुद्दा हाल्छु” भन्दै त्रास सिर्जना गरेर नगद तथा विभिन्न जिन्सी सामान किन्न लगाई रकम असुलेको प्रहरीले जनाएको छ।
प्रहरीले यस प्रकरणमा मुकेश कुमार धानुका, दिल कुमारी लिम्बु, अशोक अग्रवाल, ‘नेलिका’ नामले चिनिने नेलिका लामिछाने लगायतलाई समेत प्रतिवादी बनाएको छ। संगठित रूपमा योजना बनाई रकम असुलेको निष्कर्षसहित मुद्दा अघि बढाइएको हो ।
अनुसन्धानका क्रममा तुल्सी अधिकारीले ललितपुरको भैँसेपाटीमा चार आना क्षेत्रफलमा घर निर्माण गरेको, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा जग्गा खरिद गरेको तथा ललितपुरकै कुमारीपाटीमा ‘तुल्सा कलेक्सन प्रालि’ सञ्चालन गरेको खुल्न आएको छ।
त्यसैगरी, उनको विदेश भ्रमण गतिविधि पनि शंकास्पद देखिएको प्रहरीले जनाएको छ। अभियोगपत्रमा उनले नेपाल, भारत, चेन्नाइ र श्रीलङ्कासहित विभिन्न स्थानमा ५३ पटक यात्रा गरेको विवरण उल्लेख छ।
हाल फरार रहेकी तुल्सी अधिकारी छोरीसहित चीनमा रहेको दाबी अभियोगपत्रमा गरिएको छ। सम्पत्ति शुद्धीकरणको आरोपमा उनकी छोरी तथा बाबु–आमालाई समेत प्रतिवादी बनाइएको छ।