काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
त्यसैगरी बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए।
त्यसैगरी चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डा दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र २०८३ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय समेत गरेको छ।