काठमाडौं । टिकटकर तुलसा अधिकारीको ठगी प्रकरण यतीबेला सामाजिक सञ्जालमा चर्चामा छ।
ललितपुरका अटो व्यवसायी कुमार चिमोरियाको जाहेरीमा तुलसा कलेक्सन नामक गहनाको पसल चलाउने तुलसाविरुद्ध प्रहरीले पक्राउ पूर्जी समेत जारी गरिसकेको छ। उनी भने चीनमा बसेर टिकटकमार्फत नै प्रहरीलाई चुनौती दिइरहेकी छिन्।
यो प्रकरणमा नेपाल प्रहरीकी एक डिएसपी पनि जोडिएकाले घटना बढी चर्चा छ। प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डिएसपी पूर्णिमा चन्द तुलसा कलेक्सनमा गई कम मूल्य तिरेर सामान लैजाने गरेको आरोप तुलसाले लगाएकी छिन्।
डिएसपी सो पसलमा गएको सिसिक्यामेराको फुटेजसम्म उनले सार्वजनिक गरेकी छिन्। जसकारण यो प्रकरणमा प्रहरीको समेत आलोचना भइरहेको छ।
तुलसाविरुद्ध गत साउनमा नै सातदोबाटो वृत्तमा जाहेरी दर्ता भएको थियो। तर, प्रहरीलाई दबाब दिएर उनले अनुसन्धान रोकाएकी थिइन्।
आरजु देउवा निकट कांग्रेस नेतृ लक्ष्मी खतिवडामार्फत उनले प्रहरीलाई दबाब दिदै आएकी थिइन्।
पछिल्लो समय आरजुको शक्ति कमजोर भएपछि प्रहरीले अनुसन्धान थालेको हो। प्रहरीले पनि गम्भीरताका साथ अनुसन्धान नगरी दुवै पक्षसँग बार्गेनिङको प्रयास गरेको आरोप लागेको छ ।
अर्कोतर्फ आफुले छानबिन गरिरहेकै पसलमा गएर सपिङ गरेको पुष्टि भएपछि डिएसपी चन्दमाथि स्वभाविक रुपमा प्रश्न उठेको छ।
उनले व्यवसायी कुमार चिमोरियासँगका अतंरंग तस्बिर र भिडियो समेत खिचेर राखेकी थिइन। व्यवसायी चिमोरियाले श्रीमतीको दबाबमा पछि उजुरी हालेका थिए। उजुरी परेपछि तुलसा चीन पुगेकी हुन्।
डिएसपीमाथि समेत आरोप लगाएपछि ललितपुर प्रहरीले उनको बारेमा बिज्ञप्ति नै निकालेर सम्पत्ति शुद्धीकरणको कसुरमा समेत छानबिन भइरहेको भन्दै उनीमाथि थप दबाब सिर्जना गरेको छ।
तुलसा भने टिकटकमार्फत नै प्रहरीलाई चुनौती दिइरहेकी छिन्।