काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अस्थिर परिस्थितिबीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र सम्भावित उद्धारका लागि गैरआवासीय नेपाली संघले (एनआरएनए) ले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकको सुरक्षाका विषयमा गम्भीर चासो व्यक्त गरेको हो ।
भेटका क्रममा अध्यक्ष केसीले मध्यपूर्वका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा पछिल्ला घटनाक्रमका कारण त्रास र अनिश्चितताको अवस्था सिर्जना भएको उल्लेख गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले त्यहाँको अवस्थालाई नजिकबाट नियालिरहेको जानकारी गराए ।
उनले कोभिड–१९ महामारीका बेला सञ्चालन गरिएको Relief, Repatriation and Rehabilitation (RRR) कार्यक्रममार्फत विभिन्न देशबाट समस्यामा परेका नेपालीहरूको उद्धार, स्वदेश फिर्ती तथा पुनर्स्थापनामा संघले खेलेको भूमिकाको स्मरण गराउँदै सोही अनुभव र संरचना पुनः सक्रिय पार्न तयार रहेको बताए ।
अध्यक्ष केसीले परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गर्दै उच्चस्तरीय आपतकालीन संयन्त्र तत्काल गठन गर्न आग्रह गरे ।
आवश्यक परेमा नेपाल सरकार र एनआरएनएको संयन्त्रमार्फत मध्यपूर्वमा रहेका नेपालीहरूको उद्धार, सुरक्षित स्थानान्तरण र राहत व्यवस्थापनका लागि संघ पूर्ण रूपमा तयार रहेको उनको भनाइ थियो।
सचिव राईले पश्चिम एसिया क्षेत्रमा विकसित अवस्थालाई ध्यानमा राख्दै सरकारले ‘र्यापिड एक्सन टिम’ गठन गरी काम सुरु गरिसकेको जानकारी दिए । परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार परराष्ट्र सचिवको संयोजकत्वमा गठित उक्त टिममा एनआरएनएलाई समेत समेटेर अघि बढाइने उनले स्पष्ट पारे ।
भेटघाटमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, श्रम आप्रवासन तथा गैरआवासीय नेपाली समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्का र उपसचिव ९कानून० राजाराम दाहाल उपस्थित थिए।
एनआरएनएका तर्फबाट आईसीसी सचिव पारसमणि पोखरेल, आईसीसी सदस्य भविन्द्र बस्नेत, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको सहभागिता रहेको थियो।