काठमाडौं। कास्कीको लिचीवारी घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमारको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
तत्कालीन प्रशासन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले गत असोज २२ गते गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएकी छन्। दुई नेताबीचको अडिओ संवाद सार्वजनिक भएपछि आयोगले औपचारिक अनुसन्धान थालेको थियो।
उक्त अडिओमा बिचौलियाले मन्त्री गुप्तासँग “पोखराको जग्गाले तपाईंलाई टुलुटुलु हेरेर बसेको छ, अहिले २५ लाख राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाउँला” भन्ने संवाद गरेको बाहिएको थियो।
गुप्ताले भने अदालतमा बयान दिँदा आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए । तर, विशेष अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने भन्दै थुनामा राख्न आदेश दिएको थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले दिएको उक्त आदेशपछि त्यसविरुद्ध गुप्ता सर्वोच्च अदालत पुगेका हुन्।
उक्त निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासको पेशीमा राखिएको छ। यसअघि गुप्ताको निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीको ७३ नम्बरको निवेदन परे नपरेको बुझ्न आदेश दिएको थियो ।