झापा । झापामा ठूलो परिमाणमा लागुऔषध (खैरो हिरोइन)सहित सात जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध ब्यूरो इकाई काँकडभिट्टाको संयुक्त टोलीले भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गरेको थियो ।
गोप्य सूचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा प्लास्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
यसमा संलग्न ३१ वर्षीय श्रवण यादव, २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
यसैगरी, सोही प्रहरी टोलीले राति भद्रपुर-५ स्थित बसपार्क क्षेत्रमा अर्को छापा मारेको थियो ।
त्यहाँ दुलाल शेखको साथबाट प्लास्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित थप चार जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेहरूमा ३० वर्षीय शुभम साह, ३० वर्षीय जयकरण कहार, ३५ वर्षीय दुलाल शेख र २९ वर्षीय मोहम्मद अमिरबाब रहेका छन् । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।