काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको छ ।
बिहीबार निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका ११० जना सांसदहरुलाई प्रमाणपत्र वितरण सुरु गरिएको हो ।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार/चार जना सांसद निर्वाचित भएका छन् ।
आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।
त्यसपछि राष्ट्रपति पौडेलले पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताइएको छ ।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन सम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेस १८, नेकपा एमालेले ९,नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्रले १ सिट जितेको छ ।