काठमाडौं । निरन्तरको वर्षाका कारण चिप्लो बनेको नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
नारायणघाट–बुटवल सडक आयोजनाले शुक्रबार सूचना जारी गर्दै चैत ६ गतेदेखि ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्कीवास–दाउन्ने–बर्दघाट खण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालन नगर्न निर्देशन दिएको हो।
आयोजनाका अनुसार चैत ६ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण उक्त क्षेत्रमा सडक अत्यन्त चिप्लो बनेको छ।
जसका कारण ठूला मालवाहक सवारीसाधन चिप्लिने, बीचमै अड्किने र त्यसबाट लामो जाम उत्पन्न हुने समस्या देखिएको छ। यसले समग्र सवारी आवागमन नै प्रभावित बनेपछि यस्तो निर्णय लिनु परेको आयोजनाले जनाएको छ।
सूचनाअनुसार, रोक अवधिमा बर्दघाटतर्फ जाने मालवाहक सवारीलाई त्रिवेणी चोकमा र दुम्कीवासतर्फका सवारीलाई दुम्कीवास बजारमै रोकिने व्यवस्था मिलाइएको छ।
यद्यपि, छोटो तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ।
सडकको अवस्था सामान्य भएपछि मात्र पूर्णरूपमा सवारी सञ्चालन खुला गरिने आयोजनाले जनाएको छ।