काठमाडौं । सन् २०२६ को विश्वव्यापी आुतंकवाद सूचकाङ्कमा नेपालको अवस्थामा उल्लेख्य सुधार देखिएको छ।
अस्ट्रेलियाको सिड्नीस्थित 'इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस' ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्षको तुलनामा नेपालको स्थानमा उल्लेख्य सुधार भएको हो ।
‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले प्रकाशित गरेको सन् २०२६ को सूचीअनुसार नेपाल सन् २०२५ मा ६८औं स्थानमा रहेकोमा अहिले ८९औं स्थानमा रहेको छ । यो भनेको नेपालले एक वर्षमै २१ स्थानको ठूलो फड्को मार्दै सुरक्षा अवस्थामा सुधार गरेको भन्ने हो ।
१६३ देशहरूको सूचीमा दक्षिण एसियाली मुलुक पाकिस्तान पहिलो नम्बरमा परेको छ । यसले पाकिस्तान आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश बनेको देखाएको छ ।
नेपालको छिमेकी मुलुक भारत १३औं स्थानमा छ । भारतले गतवर्षको तुलनामा केही सुधार गरेको छ । यसअघि भारत ११औं स्थानमा थियो ।
दक्षिण एसियाली मुलुक भुटान र श्रीलंका आतंकवादी गतिविधि शून्य भएका देशहरूको सूचीमा पर्दा बंगलादेश ४२औं स्थानमा र अफगानिस्तान ११औं स्थानमा छन् ।
अफगानिस्तानको स्थितिमा भने सुधार आएको छ र यो अहिले शीर्ष १० देशहरूको सूचीबाट बाहिरिएको छ ।
सन् २०२५ मा विश्वभर आतंकवादबाट हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ । आतंकवादी हमलाको संख्या पनि करिब २२ प्रतिशतले घटेर २ हजार ९४४ पुगेको छ ।
यस वर्ष १९ देशको स्थिति बिग्रिएको छ भने ८१ देशको स्थितिमा सुधार आएको देखिन्छ ।