काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले कार्यालय समयमा अन्यत्र काम नगर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिएको छ।
अस्पतालले बिहान ९ देखि बेलुका ५ बजेसम्म अस्पतालमै बस्न भनेको छ। अस्पतालको सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १४ बुँदे निर्देशन जारी गर्दै कार्यालय समयमा बाहिर नजान भनेको हो।
बिहान ९ देखि बेलुका ५ बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही हुने पनि चेतावनी दिएको छ।
अस्पतालले बिहान ९ः३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई ‘गयल’ मानिने र आधा दिनको बिदा काटिने जनाएको छ।
अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार, चिकित्सक तथा कर्मचारीले तोकिएको समयमा अनिवार्य रुपमा अस्पतालमा उपस्थित हुनुपर्नेछ।
त्यस्तै अस्पतालले सेवाग्राहीसँगको व्यवहारमा पनि परिवर्तन ल्याउन ‘मुस्कानसहितको सेवा’ अनिवार्य गरेको छ। रुखो व्यवहार गर्ने र कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिइएको छ।
चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट बुझिने गरी लेख्नुपर्ने, चिकित्सकले अस्पतालभित्र एप्रोन र परिचयपत्र पनि अनिवार्य लगाउन निर्देशन दिएको छ।
अस्पताल व्यवस्थापन समितिका १४ बुँदे मुख्य निर्णयहरू:
१. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १२ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारको मार्गचित्र सम्बन्धी कार्यसूचीहरूमा स्वास्थ्य क्षेत्रको सुधारका लागि गर्नुपर्ने कार्य सम्बन्धी निर्णयको व्यवस्थापन समितिमा जानकारी गराई सो सम्बन्धी विभिन्न विषयमा छलफल गरी कार्यान्वयनको लागि आवश्यक निर्देशन प्रदान गरियो।
२. चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग लगायत प्रशासनिक र अन्य कर्मचारीहरू कार्यालय समयमा अनिवार्य रूपमा समयमै उपस्थित भई आफ्नो जिम्मेवारी बहन गर्ने। कुनै कारणवश कार्यालय समयमा पुग्न नसक्ने अवस्थामा इन्चार्ज मार्फत अस्पताल प्रशासनलाई जानकारी गराउने। विभिन्न HOD हरू सहितको Whatsapp Group मार्फत हाजिरी (Attendance) को सूचना आवश्यकतानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बन्धित अन्य निकायलाई जानकारी गराउने। सम्पूर्ण कर्मचारीहरूलाई राज्यका विभिन्न निकायबाट नियमन हुने र बिना जानकारी कार्यालय समयको गयललाई नियमानुसार कारबाहीको सिफारिस हुने।
३. कुनै पनि चिकित्सकले बिरामीको पुर्जा, Discharge Summary, Reports मा नाम, NMC No., Specimen Signature प्रष्ट बुझिने गरी लेख्नुपर्नेछ, अन्यथा कानून बमोजिम कारबाही हुने। बिमा बोर्डको निर्देशन अनुसार Discharge Summary मा अत्यावश्यक Information प्रष्टसँग लेख्नुपर्नेछ।
४. पोशाक, कार्ड सम्बन्धमा स्वास्थ्यकर्मी, नर्स, डाक्टरले Apron वा परिचय पत्र कार्ड अनिवार्य रूपमा लगाउनु पर्ने।
५. Cleanliness Audit को लागि प्रमुख नर्सिङ्ग अस्पताल नर्सिङ्ग प्रशासक संगिता श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्ने।
६. Attendance Audit का लागि सहायक निर्देशक डा. मीन चन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने।
७. वि.सं. २०८३ का लागि सार्वजनिक बिदाका सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूची अनुसार दिने निर्णयका लागि कार्यकारी परिषद्मा पेश गर्ने।
८. कार्यालय समय २०८३ वैशाख १ गते देखि बिहान ९:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म र कार्तिक १५ गते देखि माघ १५ गतेसम्म बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म निर्धारण गर्ने निर्णयका लागि कार्यकारी परिषद्मा पेश गर्ने।
९. OT/CATH LAB/Evening Round मा On Call चिकित्सकलाई/स्वास्थ्यकर्मीलाई Incharge/HOD को सिफारिसमा Performance based Incentive दिन विगतको प्रतिवेदन अनुसार गर्नेगरी कार्यकारी निर्णयका लागि परिषद्मा पेश गर्ने।
१०. फार्मेसीमा औषधिको उपलब्धतालाई चुस्त बनाउने र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने। फार्मेसीमा उपलब्ध औषधिको Stock को बारेमा सेवाग्राहीलाई जानकारी दिन प्राविधिक रूपमा समन्वय गर्ने।
११. बिहान ९:००-५:००/ यदि कार्यालयमा समयमा पुग्न ढिलो हुने भए with logical explanation Director Whatsapp Group मा Inform गर्नुपर्ने। ९:३० बजे पछि र ४:३० बजे अगाडीलाई गयल मानिने र र क्या.बि. आधा दिन लिनुपर्ने।
१२. सम्पूर्ण कार्यरत चिकित्सक/नर्स, प्यारामेडिकल र अन्य कर्मचारीको विभागीय प्रमुख/ Incharge ले Duty Roster लाई HOD/INCHARGE Viber Group/ नर्सिङ्गको हकमा Nursing Incharge Viber Group मा जानकारी गराउनु पर्ने। आफूलाई खटाइएको ठाउँमा नभेटिएको खण्डमा कर्मचारीको HOD/Incharge लाई जानकारी गराउनुपर्ने। यदि सम्बन्धित चिकित्सक कार्यकक्षमा नभेटिएमा सम्बन्धित HOD लाई सचेत गराइनेछ र सो कर्मचारीको Attendance को अवस्था माथिल्लो निकाय मन्त्रालयमा समेत जानकारी गराइने।
१३. हरेक चिकित्सक/स्वास्थ्यकर्मी/नर्सिङ्ग स्टाफहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सतर्कता केन्द्र लगायत उच्च निकायको निरन्तर निगरानीमा रहनेछन् र कार्यालय समयमा कार्यालयमा खटाइएको ठाउँमा नभेटिए र अन्यत्र भेटिएमा यसको सजाय स्वयंले नै भोग्नुपर्नेछ।
१४. व्यवहार: प्रत्येक कर्मचारी सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीसँग शिष्ट, सभ्य, मर्यादित, सालिन र मुस्कानका साथ प्रस्तुत हुनुपर्ने। रुखो व्यवहार र कार्यशैली बन्द गर्ने।