Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बर्खास्त मन्त्रीकी पत्नी जुनु श्रेष्ठ भन्छिन् - बिनास्पष्टीकरण हटाइयो, यो नै सुशासन हो ?

बर्खास्त मन्त्रीकी पत्नी जुनु श्रेष्ठ भन्छिन् - बिनास्पष्टीकरण हटाइयो, यो नै सुशासन हो ?

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । श्रममन्त्रीबाट बर्खास्त भएका दीपक साहकी पत्नी जुनु श्रेष्ठले आफूहरूमाथि अन्याय भएको भन्दै सरकारको ‘सुशासन’ दाबीमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा श्रेष्ठले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुशासन नीतिलाई नै चुनौती दिएकी हुन्।

प्रधानमन्त्री शाहले पदको दुरुपयोग गर्दै पत्नीलाई स्वास्थ्य बीमा बोर्डमा निरन्तरता दिलाएको आरोपमा साहलाई बर्खास्त गरेका थिए। तर श्रेष्ठले भने आफ्नो पुनर्नियुक्ति प्रक्रियालाई श्रीमानसँग जोड्नु गलत भएको स्पष्ट पारेकी छन्।

श्रेष्ठले आफ्नो शैक्षिक र व्यावसायिक पृष्ठभूमि प्रस्तुत गर्दै आफू योग्यताका आधारमा नियुक्त भएको दाबी गरिन्।

त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्रीमा स्वर्ण पदक विजेता, जनस्वास्थ्यमा स्नातकोत्तर पनि स्वर्ण पदकसहित, युके सरकारको छात्रवृत्तिमा लन्डन स्कूल अफ इकोनोमिक्स र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट एमएससी, अन्तर्राष्ट्रिय स्वास्थ्य प्रणाली अध्ययन र अनुसन्धानमा संलग्न, विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टीयरिङ कमिटी सदस्य समेत हुन्।

उनले स्वास्थ्य बीमा सम्बन्धी विषयमा नेपाल र अन्तर्राष्ट्रिय स्तरमा काम गरेको उल्लेख गर्दै बोर्डमा आफ्नो योगदान क्षमता रहेको दाबी गरिन्।

श्रेष्ठले आफू र श्रीमान दुबैसँग कुनै स्पष्टीकरण नै नसोधी कारबाही गरिएकोप्रति असन्तुष्टि जनाइन्। 'बिनास्पष्टीकरण पदमुक्त गर्नु नै सुशासन हो भने, सुशासनको परिभाषा फेरि पढ्नुपर्छ,' उनले भनिन्।

उनका अनुसार बोर्डमा आफ्नो अनुपस्थितिबारे पूर्व जानकारी दिइएको, अनलाइन बैठकमा सहभागी भएको र नेपाल फर्किएपछि पुनः काम गर्न इच्छुक रहेको जानकारी समेत गराइएको थियो।

श्रेष्ठले आफ्नो नियुक्तिलाई श्रीमानसँग जोडेर व्याख्या गरिनु महिला विरुद्धको पुरानो सोच भएको टिप्पणी गरिन्।'महिलाहरू आफ्नै क्षमताले अगाडि बढ्न सक्छन् भन्ने स्वीकार गर्ने समय आएको छ,' उनले भनिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077