काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–८ डाँडागाउँमा भएको सवारी दुर्घटनामा एक प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर अभय लामा मंगलबार राति दुर्घटनामा परेका हुन् । कार्यालयको काम सकेर फुटुङ स्थित डेरातर्फ जाँदै गर्दा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको हो।
दुर्घटनामा परेका अभय लामाको टाउको, अनुहार, हातखुट्टा र छातीमा गम्भीर चोट लागेको छ। घाइते लामाको बिएण्डबीमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक आइत राम मोक्तान लाई प्रहरीले पक्राउ गरेको छ। उनी मनहरी गाउँपालिका–५ का बासिन्दा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।