काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल इस्तानबुल प्रस्थान गरेका छन्।
अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन सोमबार उनी त्यसतर्फ गएका हुन्।
टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन्। वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्नेछन्।
उनले भविष्यका पुस्ताका लागि आशा जगाउने, शान्ति सुरक्षित गर्ने र न्याय सुनिश्चित गर्ने विषयमा आफ्नो मन्तव्य राख्ने कार्यक्रम तय भएको छ । यसका साथै महासभाको साइडलाइनमा उनले विभिन्न देशका संसद् प्रमुखहरूसँग द्विपक्षीय भेटघाट तथा छलफलसमेत गर्नेछन् । महासभाकै क्रममा आयोजना हुने असंलग्न आन्दोलन ९नाम० संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा पनि दाहालले नाम क्षेत्रमा जलवायु–उत्थानशील सहरीकरण सुनिश्चित गर्न संसद्को भूमिका विषयमा धारणा राख्नेछन् ।
इस्तानबुलमा हुने आईपीयू महासभा, नाम संसदीय सञ्जालको सम्मेलन र अन्य निर्धारित भेटघाट तथा कार्यक्रमहरू सम्पन्न गरी अध्यक्ष दाहालसहितको संसदीय टोली वैशाख ८ गते स्वदेश फर्किनेछ ।