काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने बताएका छन् ।
बिहीबार निर्माणाधीन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताएका हुन् ।
आगामी अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि उनले बताए ।
उनले भने- 'यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रिय सभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम सुरु गर्ने गरी तयारी थालेका छौँ ।'
नयाँ संसद् भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको उनको भनाइ थियो ।
आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको बताए ।