एजेन्सी । सम्राट चौधरी भारतीय राज्य बिहारको नयाँ मुख्यमन्त्री बनेका छन्।
चौधरी भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट पहिलो मुख्यमन्त्री बनेका हुन्।
चौधरी बुधबार मुख्यमन्त्री पदको शपथ खाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
शपथ ग्रहणपछि पत्रकारसँग कुरा गर्दै चौधरीले भने- 'हाम्रो नयाँ सरकार नितिश कुमारले लिएको बाटोमा हिँड्नेछ।'
यस्तै जनता दल युनाइटेड (जेडीयू)का विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवले पनि मन्त्री पदको शपथ खाएका छन्।
शपथ ग्रहण समारोहमा पूर्वमुख्यमन्त्री नितिश कुमार पनि उपस्थित थिए। पूर्व मुख्यमन्त्री नितिश कुमारले हिजो मात्रै पदबाट राजीनामा दिएका थिए ।
नितिश कुमार हालै राज्यसभामा निर्वाचित भइसकेका छन् र सो पदका लागि शपथसमेत लिइसकेका छन्। पछिल्लो समय उनी भारतीय जनता पार्टीको समर्थनमा मुख्यमन्त्रीको जिम्मेवारीमा थिए।
नितिश कुमारको राजनीतिक यात्रा हेर्दा उनी सन् २००० मा छोटो अवधिका लागि पहिलो पटक मुख्यमन्त्री बनेका थिए। त्यसपछि २००५ देखि २०१४ सम्म निरन्तर नेतृत्व गरेका उनले बीचमा अल्पकालीन अन्तरालपछि पुनः नेतृत्व सम्हाल्दै पछिल्लो पटक ११ वर्ष ५१ दिनसम्म मुख्यमन्त्रीका रूपमा कार्यरत थिए।